मस्कट(ओमान), २७ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय टिम आज कतारसंग् प्रतिस्पर्धामा उत्रिदै छ।
खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ। छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिने नेपालको तयारी छ ।
समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो।
नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ। जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो।
यूएईलाई पराजित गरेपश्चात नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। पहिलो स्थानमा भने ओमान रहेको छ। ओमान नेट रनरेटका आधारमा पहिलो स्थानमा पुगेको हो। नेपालसँग पराजित यूएई र जापान दुबै २ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
सुपर सिक्समा रहने शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी २० विश्वकपमा स्थान बनाउने छन्।


















