वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २७ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजाको युद्ध समाप्त भएको बताउनुभएको छ। गाजाका बन्धक रिहाइका निम्ति इजरेल प्रस्थान गर्नुअघि उहाँले यस्तो बताउनुभएको हो ।
सङ्घर्षविराम सम्झौताअनुरूप हमासले सबै इजरायली बन्धकहरू सुम्पिँदै छ।
उक्त प्यालेस्टिनी समूहसँग ४८ बन्धकहरू फिर्ता गर्न स्थानीय समयअनुसार सोमवार दिउसो १२ः०० बजेसम्मको समय छ। ती ४८ मध्ये २० जना जीवितै रहेको ठानिएको छ।
बदलामा इजरायलले २ सय ५० जना प्यालेस्टिनी बन्दीहरू र हिरासतमा लिइएका १ हजार ७ सयभन्दा धेरैलाई रिहा गर्ने बताइएको छ।
इजरायल प्रस्थान गर्ने क्रममा ट्रम्पले ूयुद्ध सकिएकोू र ूसङ्घर्षविरामको स्थिति कायम रहनेू बताउनुभयो ।
“म युद्धहरू समाधान गर्नमा र शान्ति स्थापना गर्नमा राम्रो छु”, उहाँले थप्नुभयो।
इजरायलमा ट्रम्पले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई भेट्ने र इजरायली संसद्लाई सम्बोधन गर्ने ठानिएको छ।
उहाँले नेतन्याहूसँग आफ्नो निकै राम्रो सम्बन्ध भएको बताउनुभयो। नेतन्याहूलाई युद्धकालीन राष्ट्रपतिको संज्ञा दिँदै ट्रम्पले भन्नुभयो, “उहाँले निकै राम्रो काम गर्नुभयो। उहाँसँग मेरो केही मतभेद पनि रह्यो तर त्यो चाँडै सुल्झियो।”
इजरायलबाट उहाँ इजिप्ट प्रस्थान गर्ने कार्यक्रम छ।
त्यहाँ उहाँले मध्यपूर्वमा शान्ति स्थापना गर्नेसम्बन्धी शिखर सम्मेलन आयोजना गर्नुहुने छ।
उक्त सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरसहितका विश्व नेताहरू सामेल हुने बताइएको छ।
तेल अभिभमा सुखद खबरको प्रतीक्षा
ठूलो सङ्ख्यामा इजरायलीहरू तेल अभिभको होस्टेजेज स्वायरमा जम्मा भएका विवरणहरू आएका छन्। त्यहाँ जडान गरिएका ठूल्ठूला स्क्रिनहरूमा बन्धक रिहाइका दृश्यहरू प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।
बन्धक तथा बेपत्ताका परिवारसम्बन्धी फोरमले केही बेरअघि सामाजिक सञ्जाल एक्समा एउटा तस्बिर पोस्ट गरेको छ जसमा बन्धक रिहाइको प्रतीक्षामा रहेका सयौँलाई देख्न सकिन्छ।
“उक्त स्थल बन्धकहरूको प्रतीक्षामा छ”, ती सामग्रीहरूमा भनिएको छ।
दुई वर्षपछि ती बन्धकहरूलाई छाड्न लागिएको हो।
गाजामा तनाव
यसैबीच गाजा सिटीमा हमासका सुरक्षा बल र दुगमुश समूहबीच भीषण झडप हुँदा कम्तीमा २७ जना मारिएका विवरणहरू आएका छन्। यसलाई उक्त क्षेत्रमा इजरायली कारबाही समाप्त भएपछिको सबैभन्दा हिंस्रक आन्तरिक टकरावमध्येको ठानिएको छ।
स्थानीय स्रोतहरूका अनुसार दुगमुशतर्फका १९ र हमासतर्फका ८ जना मारिएका हुन्।
इजरायली फौजले हालसालै खालि गरेको गाजाका क्षेत्रहरू हमासले आफ्नो सुरक्षा बलका सदस्यहरूलाई परिचालन गरेको थियो।
गाजा सिटीको सब्रा क्षेत्रमा शक्तिशाली दुगमुश समूहका बन्दुकधारीले हमासको विशेष फौजका दुई जनालाई गोली हानेर मारिदिएपछि तनाव बढेको विवरणहरू आएका छन्।


















