मस्कट (ओमान), ३१ असोज । नेपालले आईसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एशिया प्रशान्त छनोटको अन्तिम खेलमा सामोआसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर प्लेमा नेपालले ६१ रन जोड्यो।
पावर प्ले सकिए लगतै सातौं ओभरको चौथो बलमा १७ रन बनाएर कुशल सौमानी टियाईको बलमा बोल्ड आउट भए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कुशल आउट भएपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। आसिफले ४१ बलमा ७ चौका र ४ छक्का सहित ६९ रन जोडे । उनी नोआ मियाडको फुल टस बलमा डारियस भाइसरद्वारा क्याच आउट भए। टी २० आईमा आसिफको यो दशौं अर्धशतक हो।
टी २० आईमा आशिफको यो व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो। यसअघि उनले वेस्ट इन्डिज विरुद्ध ६८ रन बनाएका थिए।
१२ ओभर ५ बलमा आसिफ आउट हुँदा नेपालले १ सय १० रन बनाएको थियो। आसिफ आउट भएपछि पहिलो पटक मौका पाएका आरिफ शेख आए। तर उनी मात्र ९ रनमा डारियस भाइसरको बलमा एलबिडब्लु धरापमा परे।
यसपछि दीपेन्द्रले ३१ औं बलमा ड्यानियल बुर्गेसलाई १७ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको पनि टी २० आईमा यो दशौं अर्धशतक हो।
२ चौका र ४ छक्का सहित अर्धशतक बनाए लगतै दीपेन्द्र बुर्गेस कै बलमा ५३ रनना आउट भए। १ सय ६० रन जोड्दा नेपालले चौथो विकेट गुमायो।
दीपेन्द्र आउट भएपछि लोकेश बमले बिष्फोटक ब्याटिङ गरे। उनले १२ बलमा ४ छक्का र २ चौका सहित अविजित ३९ रन जोडे। उनको टी ट्वान्टी आई करियरको यो उच्च रन हो। यसअघि उनले ३३ रन बनाएका थिए।
अन्तिम ओभरमा सामोआका दुई खेलाडीले लोकेशको दुई वटा क्याच छुटाएका थिए। कप्तान रोहित पौडेल अविजित २१ रनमा रहे।
नेपाललाई रोक्ने क्रममा बलिङमा डारियस भाइसर, ड्यानियल बुर्गेस, सौमानी टियाई, नोया मियाडले १ । १ विकेट लिए।
अपराजित नेपाल उपाधिको निकै नजिक पुगेको छ। नेपाल यसअघि नै विश्व कपमा छनोट भैसकेको छ।


















