Prakash Adhikari October 17, 2025

सेनाको भन्यो, ‘जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु, अन्य ४१ को हुन भन्ने खुलेन’

काठमाडौं, ३१ असोज । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो।

सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन्। सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न सकेको छैन।

आन्दोलनका क्रममा ६ सय ८८ सरकारी कार्यालय,२ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।

यसैगरी आन्दोलनमा ९ सय ७८ थान हातहतियार लुटिएकोमा ५ सय ८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ। आन्दोलनका क्रममा १५ हजार ५ सय ८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७ सय ९९ जनालाई पुनः नियन्त्रणमा लिइसकेको छ।

यसैगरी नेपाली सेनाले जेनजी प्रदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिन र पेट्रोल लिएका प्रदर्शनकारीलाई सेनाले रोकेको सहायक रथी मनोज थापाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन र पेट्रोल लिएर आएकाहरूलाई हामीले रोक्यौं, विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धूमिल हुने थियो।’

जेनजी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ।

Share Now