काठमाडौँ, २ कार्तिक । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगिता कौशल मिश्रा लगायतका खरिद कार्यमा संलग्न कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
डा. मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
केही साताअघि जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहनुभएकी मिश्राविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेस गरेको हो ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।


















