जनकपुरधाम(धनुषा), २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताउनुभएको छ ।
जनकपुरमा आज २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी दिनुभयो । जनताको आधारभूत आवश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमि हुनबाट जोगाउनुपर्ने बताउँदै सुनकोशी–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने उल्लेख गर्नुभयो । उहाँले तराईमा मल कारखाना खोल्ने पनि जानकारी दिनुभयो ।
विकासका लागि ठूला योजनाहरु बनाउनैपर्ने दोहोर्याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’’
नेपाल सरकारले लिएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को नारालाई भारत र चीनले पनि साथ दिएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्नेलगायतका योजना सुनाउनुभयो ।
प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले कुनै पनि नेपाली नागरिकताविहीन हुन नसक्ने प्रष्ट पार्नुभयो ।


















