काठमाडौं, १४ मंसिर । भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासनको माग गर्ने नवयुवा पुस्ता (जेन्जी)को आलो रगत र बलिदानको जगमा बनेको सुशीला कार्की सरकारको पालामा पनि भ्रष्टाचार र अनियमितता पूर्ववत देखा पर्न थालेका छन् ।
हाले २२ नोभेम्बरका दिन नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तरगतको मेलम्ची खानेपानी विकास समितिले आयोजनाको डिजाईन, निर्माण सुपरीवेक्षण र आयोजना व्यवस्थापना परामर्श सेवाको ठेक्का टुंगो लगाउदा ठूलो घोटालाबाजी भएको पाइएको छ । यो आयोजनाको निर्धारित कामको लागि चीनको यलो रिभर इन्जिनियरिड. कन्सल्टिड लिमिटेड, नेपालको इन्भायरोमेण्ट एण्ड रिसोर्सेस म्यानेजमेण्ट कन्सल्टेन्ट (इआरएमसी)प्रा.लि., हाइड्रो कन्सल्ट इन्जिनियरिड. लिमिटेडको साथमा एड्भान्स इन्जिनियरिड. एण्ड म्यानेजमेण्ट कन्सल्टेन्सी प्रा.लि. र कोइमन्को नेपाल प्रा.लि उपपरामर्शदाता रहेको संयुक्त उपक्रमलाई पुरस्कृत गरिएको छ । यो उपक्रमले सो काम २८ लाख १२ हजार डलर र ५४ करोड १० लाख ४४ हजार ८ सय ६२ रुपैया ४९ पैसामा पाएको छ । जसको ठेक्काका प्रस्ताव पेश गर्दाको बिनिमय दर अनुसार कूल रकम ९३ करोड ९४ लाख १० हजार ८ सय ८२ रुपैया हिसाब गरिएको छ ।
इआरएमसीको झेल
नेपालमा पछिल्लो समयमा इआरएमसी परामर्शदातामा सरकारी ठेक्का जित्ने टाइकूनको रुपमा देखा परेको छ । काठमाडौं उपत्यकाको खानेपानी आयोजनामा २०२१ देखि जरो गाडेर बसेको इआएमसीले विगतमा झै यसपटक पनि चिनिया प्राविधिकहरुको योग्यता र अनुभवको नक्कली विवरण पेश गरेर यो परामर्श ठेक्का हत्याएको पाइएको छ ।
यो ठेक्का हातपार्न इआरएमसीलाई मेलम्ची विकास समितिको प्रस्ताव मूल्यांकन समितिले पनि राम्रो पक्षधरता लिएको प्रतिस्पर्धीहरुको दावी छ । खास गरी गुणस्तर , लागत आधारित मूल्यांकन पद्धति (क्युआरसीबी) अनुसार परामर्शदाता चयन गर्दा सार्वजनिक खरिद नियमावलीले प्राविधिक पक्षलाई ७० देखि ९० अंकभार र वित्तीय प्रस्तावलाई ३० देखि १० प्रतिशत अंकभार दिने सहुलियत दिएको छ । ठेकेदार र रोजगारदाता कम्पनीकाबीचमा मिलेमतो यही मूल्यांकनको स्वविवेकीय प्रावधानलाई टेकेर हुने गरेको छ ।
यो परामर्शदाता चयनमा मेलम्ची विकास समितिका पदाधिकारीहरुले इआरएमसीलाई सजिलो पर्नेगरी प्राविधिक पक्षलाई ९० प्रतिशत अंक र वित्तीय प्रस्तावलाई १० अंक दिने गरी प्रस्ताव मूल्यांकनको आधार तयार पारेका थिए । वित्तीय प्रस्तावलाई जम्मा १० प्रतिशत अंकभार राखिएकोले सबैभन्दा कम रकम कबोल गर्ने ८७ करोड ६० लाख ३६ हजार ३ सय ६२ रुपैया कबोल गर्ने सिरडी कम्पनी संयुक्त मूल्यांकनमा पुछारमा पर्न गयो । ८८ करोड २२ लाख १३ हजार ७ सय ४३ रुपैया कबोल गर्ने डोल्सारलाई दोस्रो बन्न बाध्य पारियो । ८९ करोड २० लाख ९२ हजार १ सय २२ रुपेया कबोल गर्ने स्मेक चौथो नम्बरमा पारियो । ९२ करोड ७४ लाख २६ हजार ९ सय ४८ रकम पेश गर्ने वापकोश तेस्रो हुन गयो । र सबैभन्दा बढी महंगो ९३ करोड ९४ लाख १० हजार ५ सय ८२ रुपैयाको प्रस्ताव पेश गर्ने यल्लो रिभर इन्जिनियरिड.कम्पनीको साथमा लागेको इआरएमसीले ठेक्का उछिट्टयायो ।

यो परामर्शदाताको प्रतिस्पर्धामा सहभागी अन्य कम्पनीका प्रतिनिधिहरुले सबैभन्दा बढी महंगो प्रस्ताव पेश गर्ने कम्पनीलाई ठेक्का दिएर मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुले ६ करोड ३३ लाख ७४ हजार २ सय २० रुपैया भ्रष्टाचार गरेका छन् ।
परामर्शदाता छनोट गर्दा प्राविधिक प्रस्तावतर्फ प्रस्तावदाताको कामको अनुभवलाई २५ सम्म, कार्यसम्पादन गर्ने तरिका र कार्य क्षेत्रगत शर्तप्रतिको प्रभावग्राहितालाई २० देखि ३५ प्रतिशत, मुख्य जनशक्तिको योग्यता र अनुभावलाई ३० देखि ६० प्रतिशत, प्रविधि हस्तान्तरणलाई १० प्रतिशत र नेपाली जनशक्तिको सहभागितालाई १० प्रतिशत अंकभार राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद नियमावलीमा छ । इआरएमसीले यल्लो रिभर इन्जिनियरिड.का चाइनिज प्राविधिकहरुको योग्यता र अनुभवमा बढाईचढाई गरेर मूल्यांकन समितिलाई प्रभावित गरी अधिक अंक हासिल गरेको बताइन्छ । चिनिया परामर्शदातृ कम्पनीहरुसंग काम गरेका नेपाली साझेदारहरुका अनुसार चिनियाहरुले अनुभव र योग्यताको विवरण त्यति राम्रोसंग मिलाउने गर्दैनन् ।
सामान्यतः निर्माण कम्पनीहरुमा कम्पनी छनौट भएपछि चिनिया माउ कम्पनीको खटनपटन अनुसार आउने भएकोले उनीहरुले व्यक्तिगत विवरण भरेर कुनै खास कम्पनीलाई कुनै खास परियोजनामा बर्षौ अगाडिदेखि खटाउने चलन चिनिया कम्पनीहरुको हुँदैन । उनीहरु सामान्यत कम्पनी चयन भएपछि कम्पनीको आवश्यकता र खटनपटन अनुसार कामका लागि आउने गर्दछन् । नेपाली साझेदार रहेका परामर्शदाताहरुले चिनिया साझेदार कम्पनीका प्राविधिकहरुको सीभी आफूलाई सुहाउने गरी बनाएर पेश गरेको आरोप प्रतिस्पर्धीहरुले लगाएका छन् ।
मेलम्ची खानेपानी विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीहरुलाई इआरएमसीले लामोसमय देखि पकेटमा राखिरहेको छ । इआरएमसीको वेभसाइटमा उल्लेख भए अनुसार काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको ऋण ३२७७ एएफ अन्तरगत २६ किलोमिटर वितरण प्रणाली, ३ वटा पानी पोखरी निर्माण, २०० किलोमिटर वितरण सञ्जाल सुधार,४०० किमी वितरण सञ्जाल सुधारको सर्वेक्षण र डिजाइन र १२० किलोमिटर जति पालिकास्तरीय सडकको पुनस्थापनाका लागि करिब ३० अर्ब ९३ करोड ४७ लाख ५५ हजार ९ सय ४६ रुपैया ८२ पैसाको काममा इआरएमसीले परामर्शको ठूलो काम पाएको थियो ।

वेभसाइटमा यस अन्तरगत कम्पनीद्वारा प्रदान गरिएको वास्तविक सेवाहरूको विस्तृत विवरण दिइएको छ । जसमा विस्तृत डिजाइन र खरिद सहायता अन्तरगत आधार नक्सा, म्यानुअल, मार्गनिर्देशिका निर्माण र कमिसनिङ, योजनाहरूको डिजाइन र तयारीको समीक्षा,सर्वेक्षण, अध्ययन र अनुसन्धान, विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र कागजातहरू तयारी, विस्तृत डिजाइन चरणको समयमा सामाजिक वातावरणीय, पुरातात्विक, व्यावसायिक स्वास्थ्य र सुरक्षा, सामुदायिक सहभागिता र लैङ्गिक मुद्दाहरूको पहिचान र समाधानका विषयहरु समेटिएका छन् । त्यस्तै निर्माण पर्यवेक्षण र सम्झौता प्रशासन अन्तरगत सम्झौता प्रशासन, निर्माण पर्यवेक्षण, सामाजिक वातावरणीय, पुरातात्विक, सामुदायिक सहभागिता, लैङ्गिक मुद्दाहरू र सूचना प्रसार, परियोजना व्यवस्थापन र अनुगमन समर्थन लगायतका कामहरु रहेका छन् ।


















