- फणीन्द्र दाहाल
बीबीसी न्यूज नेपाली
काठमाडौं, १४ मंसिर । औषधि व्यवस्था विभागले गुणस्तरमा कमी देखिएको भन्दै नेपालका दुइटा निजी कम्पनीलाई तिनले उत्पादन गरेका प्यारासिटामोल ट्याब्लेटहरू बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागका अनुसार लोमस फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडबाट उत्पादित सिटोफेन र क्युरेक्स फर्मास्यूटिकल्सद्वारा उत्पादित रेक्सामोलको बिक्री वितरणमा रोक लगाएको छ।
ती दुवै औषधि आवश्यक मात्रामा रगतमा घुलमिल हुन नसकेकाले निष्प्रभावी पाइएको र त्यसो हुनाको कारणबारे जाँच गरेर प्रतिवेदन पेस गर्न सम्बन्धित औषधि उत्पादन कम्पनीलाई निर्देशन दिइएको विभागका महानिर्देशकले बीबीसीलाई बताए।
ज्वरो नियन्त्रण र दुखाइ कम गर्न प्रयोग हुने प्यारासिटामोल सर्वसाधारण मानिसले व्यापक रूपमा प्रयोग गर्ने औषधि हो।
विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरू भिन्नाभिन्नै नाम दिएर उक्त औषधिलाई बजारमा पुर्याउने गरेका छन्।
औषधि व्यवस्था विभाग के भन्छ?
औषधि व्यवस्था विभागले बजारमा ती दुई कम्पनीले पठाएका निश्चित ब्याचका सिटोफोन र रेक्सामोल नामक औषधि न्यून गुणस्तरको पाइएकाले बिक्रीवितरण रोक्का गरिएको जनाएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बीबीसीसँग भन्नुभयो, “हामीले केही नमुनाहरू परीक्षण गराएका थियौँ। त्यसको घुलनशीलताको मापदण्ड पूरा नभएको पाइयो। ट्याब्लेट शरीरभित्र पुगेपछि टुक्रिन्छ। अनि खास औषधिको तत्त्व जुन हुन्छ, जसलाई हामी सक्रिय तत्त्व भन्छौँ, त्यसलाई शरीरले ग्रहण गर्नुपर्छ।”
उहाँले थप्नुभयो, “प्यारासिटामोलको हकमा तोकिएको समयभित्र ७० प्रतिशतभन्दा बढी घुलनशील भएको हुनुपर्छ। हामीले जुन नमुनाको जाँच गर्यौँ तिनमा त्योभन्दा धेरै तलमात्रै घुलनशील भएको पाइयो। त्यसैले गर्दा हामीले तुरुन्तै बजारबाट फिर्ता गर्ने र किन यस्तो भयो भनेर अनुसन्धान गरेर मात्रै उसलाई पुनस् उत्पादन गर्न अनुमति दिने भनेर हामीले कारबाही गरेको हो।”
औषधि ऐन २०३५ को दफा १४ ले औषधि व्यवस्था विभागले जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधि बजारबाट फिर्ता बोलाउने अधिकार दिएको छ।
कानुनले त्यस्तो ठहर गरिएका औषधि उत्पादनकर्ता वा निजको प्रतिनिधिले व्यवसायीबाट फिर्ता लिनुपर्ने उल्लेख गरेको छ।
त्यसबाहेक त्यस्ता औषधिको प्रयोगबाट कुनै व्यक्तिको मृत्यु भएमा वा जनस्वास्थ्यमा हानि हुन गएमा औषधि उत्पादन गर्ने कम्पनी उत्तरदायी हुनुपर्ने व्यवस्था औषधि ऐनले गरेको छ। पीडित परिवारलाई क्षतिपूर्ति दिने दायित्व पनि औषधि उत्पादनकर्ताको हुने ऐनमा उल्लेख गरिएको छ।
कस्तो कारबाही हुन्छ ?
महानिर्देशक ढकालले औषधि उत्पादनकर्ता कम्पनीले गुणस्तरीय भएको दाबी गरेर आफूले उत्पादन गरेका प्यारासिटामोल ट्याब्लेट बजारमा लग्नुभएको थियो। अहिले निलम्बन गर्ने निर्णय पनि कारबाहीसरह भएको उहाँको भनाइ छ।
“निलम्बन पनि ठूलो कारबाही हो। कसैको शरीरमा नोक्सान गर्यो कि गरेन भन्ने कुराको प्रमाण हामीसँग नभई थप कारबाही गर्न पनि मिल्दैन। उसले नियोजित रूपमा नै कम गुणस्तरीय औषधि ल्याएको प्रमाणित भयो भने त्यो पनि कारबाही हुन्छ।”
औषधि व्यवस्था विभागका महानिर्देशकले सम्बन्धित कम्पनीले आन्तरिक अनुसन्धान गरी बुझाउने प्रतिवेदनको आफूहरूले प्राविधिक समीक्षा गर्ने पनि बताउनुभयो।
हाल औषधि व्यवस्था विभागले बिक्री वितरण रोक्का गरेका सिटोफेनका CT-2723″ र “CT-1123” रहेको सरकारी सूचनामा उल्लेख छ। त्यसै गरी रेक्सामोलको ब्याच “TRX-695 को बिक्रीमा पनि रोक लगाइएको छ।
औषधि उत्पादकहरू के भन्छन्?
ती दुवै औषधि हाल कुन परिमाणमा बजारमा छन् भन्ने अहिले खुलिसकेको छैन। तर बीबीसीसँग कुरा गर्दै लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक प्रज्वलजङ्ग पाण्डेले आफूहरूले उक्त विषयमा जाँच अघि बढाएर मात्रै थप कुराहरू भन्न सक्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले पनि जाँच गरिरहेका छौँ। कहाँको कुन नमुना हो त्यो नहेरीकन भन्न सकिँदैन। हामीले हाम्रो प्राविधिक टोलीलाई कहाँको बजारबाट नमुना लिइएको हो भनेर बुझ्न भनेका छौँ।”
उहाँले आफूहरूसँग पनि बजारमा गएका सबै ब्याचका औषधि हुने जनाउँदै त्यसको पनि परीक्षण गरिने उल्लेख गर्नुभयो।
उहाँले थप्नुभयो, “हामीले पनि भर्खरै थाहा पायौँ। भण्डारण, ढुवानी लगायतको कारणले पनि फरक पर्न सक्छ। अहिले नै हामी केही भन्न सक्दैनौँ।”
औषधिको गुणस्तरका पक्षमा पैरवी गरिरहेका कतिपय विज्ञहरू नेपालका सरकारी निकायहरूले बर्सेनि सानो सङ्ख्यामा मात्रै औषधिको गुणस्तरको परीक्षण गर्ने गरेको भन्दै मापदण्ड विपरीतका औषधि बजारबाट फिर्ता ल्याउने बन्दोबस्त पनि फितलो रहेकोमा चिन्ता व्यक्त गर्छन्।
विज्ञले देखेको समस्या
फार्मेसी असोसिएशन अफ नेपालका सचिव कबिन मलेकूले औषधि फिर्ता गर्ने व्यवस्था संसारभरि हुने भन्दै त्यस्तो निर्णय किन ढिला गरिन्छ भन्ने कुरा प्रमुख प्रश्न भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “औषधि फिर्ता गर्न निर्देशन दिइएको छ भन्नुको अर्थ गुणस्तर जाँच भइरहेको छ भन्ने हो। औषधि व्यवस्था विभागले सूचना निकालेपछि स्वैच्छिक रूपमा कम्पनीहरूले सूचना निकालेर कहाँकहाँ छ त्यो सूचना जारी गरेर आफ्नो आपूर्ति प्रणालीबाट त्यसलाई माग गर्नुपर्ने हो। तर त्यो गर्दा थप भार पनि पर्ने भयो र नोक्सान पनि हुने भयो भनेर सोच्छन्। खासै फिर्ता हुँदैन।”
उहाँले यसको अनुगमन गर्न औषधि व्यवस्था विभागको क्षमता सीमित रहेको उल्लेख गर्दै औषधि फिर्ता ल्याउन समस्या नहोस् भन्ने सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा बार कोडको प्रयोग गर्ने अभ्यास रहेको बताउनुभयो।
उहाँले थप्नुभयो, “त्यस्तो अवस्थामा कुन औषधि कुन खुद्रा विक्रेतासम्म पुगेको छ भनेर जाँच गर्न मिल्छ। हाम्रोमा बजारमा गएर बुझ्न सक्ने प्रश्न उठाउन सक्ने संयन्त्र औषधि व्यवस्था विभागमा विकास नै भएको छैन। अहिले के भइरहेको छ भने, फर्मास्युटिकल व्यवसायमा गम्भीरतापूर्वक लागेको कोही हुनुहुन्छ भने उहाँहरूले फिर्ता गरिदिनुहुन्छ। नत्र कोही कोहीलाई त्यो मतलब पनि हुँदैन।”
औषधि व्यवस्था विभाग अन्तर्गतको राष्ट्रिय औषधि प्रयोगशालाले आर्थिक वर्ष २०८१-८२ मा जम्मा ६५० वटा औषधिको परीक्षण तथा विश्लेषण गरेको थियो। त्यसमा ५४ वटा औषधिहरू न्यून गुणस्तरीय रहेको पाइएको थियो।
प्यारासिटामोल कस्तो औषधि हो ?
ब्रिटेनको स्वास्थ्य नियामक निकाय न्याश्नल हेल्थ सर्भिसेजका अनुसार प्यारासिटामोल सामान्यदेखि मध्यम दुखाइ नियन्त्रणका लागि प्रयोग गरिने औषधि हो।
ज्वरो आउँदादेखि हातखुट्टा अनि टाउको दुख्दा यो औषधि मानिसहरूले खाने गरेको पाइन्छ। धेरै मानिसहरूले चिकित्सकको सिफारिसबिनै यो औषधि प्रयोग गर्ने गरेका छन्।
बजारमा सहजै पाइने प्यारासिटामोलको प्रयोग अधिकांश व्यक्तिहरूका लागि सुरक्षित हुने र त्यसको नकारात्मक असर खासै नहुने एनएसएसले जनाएको छ।
वयस्कहरूको हकमा उनीहरूले ६-६ घण्टामा ५०० एमजीका एक वा दुई वटासम्म चक्की सेवन गर्न सक्ने भनिएको छ भने बालबालिकाको हकमा तौल र उमेर हेरेर त्योभन्दा कम मात्राको औषधि दिइनुपर्ने सुझाव दिइएको छ।
घुलनशीलताको मापदण्ड पूरा नगर्ने प्यारासिटामोल कम प्रभावकारी हुन सक्ने भए पनि त्यसले खासै घातक असर नपुर्याउने विज्ञहरू बताउँछन्।
तर ढिला गरी कुनै औषधि फिर्ता गर्दा बजारमा त्यो खपत भइसकेको हुन सक्ने भन्दै उनीहरू संयन्त्रले ‘द्रुत ढङ्गले निर्णय लिनुपर्ने’ र त्यसको कार्यान्वयनमा ‘तदारुकता देखाउनुपर्ने’ औँल्याउँछन्।


















