काठमाडौं, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसमन्वयका लागि बंगालको खाडीको पहल(बिमस्टेक)को चौथो शिखर सम्मेलनको सचिवस्तरीय बैठक आज राजधानीमा प्रारम्भ भएको छ ।
विमस्टेकको अध्यक्षको नाताले नेपालका परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकको उद्घाटन गर्नुभएको छ । बैठक सोल्टी होटलको मालश्री हलमा बिहान ९ बजेबाट प्रारम्भ भएको छ । बैठकमा बिमस्टेकका महासचिव मोहम्मद शाहिदुल इस्लामले विशेष सम्बोधन गर्नुभएको छ ।
सामूहिक फोटो सेसनपछि सचिवस्तरीय बैठकको कार्यशत्र सुरु हुनेछ । अपरान्ह प्रतिवेदन पारित गरि बैठक सम्पन्न गर्ने कार्यक्रम छ ।
अन्य शिखर सम्मेलन जस्तै सम्मेलनमा सम्पूर्ण सदस्य राष्ट्रहरुबाट सामूहिक रुपमा गर्न सकिने भनि निर्धारण गरेर पेश गरिएका विषयबस्तुमा यही सचिवस्तरीय बैठकमा विषद् छलफल गरि टुंगो लगाइन्छ । यसबाट पारित प्रस्तावहरु मन्त्रिस्तरीय बैठक हुँदै शिखर सम्मेलनमा प्रस्तुत हुनेछन र पारित गरिनेछ ।
सचिवस्तरीय बैठकको दोस्रो कार्यसूचीमा बैठकको सभापतिको निर्वाचन रहेको छ । त्यसपछि बैठक विषयवस्तुको कार्यसूचीमा प्रवेश गर्नेछ । जसमा महासचिवले बैठकलाई साउन महिनामा काठमाडौंमा सम्पन्न सचिवस्तरीय विशेष बैठकमा पारित विषयहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
महासचिवले जानकारी गराउनु पर्ने विषयमा ब्यापार र लगानीका सम्बन्धमा मे १० र ११ मा भन्सार सहयोगका सम्बन्धमा नयाँ दिल्लीमा भएको कार्य समूहको पहिलो बैठकको प्रगति, यातायात र सञ्चारमा १३ र १४ नोभेम्बर २०१७ मा बैंककमा भएको बिमस्टेक समूहको यातायात सम्पर्क बैठकको प्रगति, २८ र २९ नोभेम्बर २०१७ मा नयाँ दिल्लीमा भएको विमस्टेक कोस्टल सिपिङ् संझौता विवरण छन् ।
त्यस्तै ९ र १० अप्रिल २०१८मा भारतको नयाँ दिल्लीमा सम्पन्न मोटर यातायात संझौताको विवरण, प्रविधिमा २१ र २२ नोभेम्बर २०१७ मा कोलम्बोमा सम्पन्न प्रविधि हस्तान्तरण सुविधा सम्बन्धी विमस्टेक विज्ञहरुको चौथो बैठकको प्रगति,आतंकबाद र सीमापार अपराधका सम्बन्धमा २८ मार्च २०१८ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न सदस्य राष्ट्रका सुरक्षाप्रमुखहरुको दोस्रो बैठकको प्रतिवेदन र १३ र १४ अगष्ट २०१८ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न आतंकबाद प्रतिवाद र सीमापार अपराधका सम्बन्धमा बसेको विमस्टेक संयुक्त कार्य समूहको आठौं बैठकको प्रगति विवरण प्रस्तुत हुनेछन् ।
यस्तै कृषिमा १२ देखि १६ डिसेम्बर २०१७ मा थाइलैण्डको चियाड.माईमा भएको विमस्टेक कृषि समन्वय विज्ञ समूहको छैठौ बैठकको प्रगति, गरिवी निवारणमा १ नोभेम्बर २०१७ मा काठमाडौंमा भएको गरिबी निवारण्मा बिमस्टेक विज्ञ समूहको बैठकको विवरण र १९ डिसेम्बर २०१७ मा विमस्टेक वरिष्ठ अधिकारी बैठकको प्रगति विवरणका साथै २० डिसेम्बर २०१७ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न गरिबी निवारणमा विमस्टेकका राष्ट्रहरुको तेस्रो मन्त्रीस्तरीय बैठकको प्रगति विवरण प्रस्तुत हुनेछ ।
त्यस्तै जनस्वास्थ्यका सम्बन्धमा २४ र २५ अक्टोबर २०१७ मा नयाँ दिल्लीमा सम्पन्न परम्परागत औषधि सम्बन्धमा विमस्टेकको कार्य दलको बैठकको प्रगतिको बारेमा पनि प्रस्तुतिकरण रहनेछ ।
यस्तै यो बैठकमा विमस्टेकको स्थायी सचिवालयको प्रशासकीय र वित्तीय अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरिनेछ । बिमस्टेकको स्थायी सचिवालय बंगलादेशको राजधानी ढाकामा राख्ने निर्णय भैसकेको छ ।
यो बैठकले नै शिखर सम्मेलनको छलफलका विषयबस्तुको मस्यौदा र शिखर सम्मेलनको घोषणापत्रको मस्यौदा पनि तयार गर्नेछ ।
यही बैठकमा बिमस्टेकका अधिल्ला शिखर सम्मेलनहरुबाट पारित विषयहरुको कार्यान्वयनको कानूनी र व्यवहारिक पक्षमा पनि समीक्षा गरिनेछ ।
यसले विमस्टेकका उच्च अधिकारीहरुको २० औं बैठकको पनि मिति र स्थान तय गर्ने कार्यक्रम छ ।
यो १९ औ सचिवस्तरीय बैठकबाट पारित प्रस्तावहरु भोलि हुने मन्त्रीस्तरीय बैठकमा पेश हुनेछन् ।
मन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरु आज साँझ काठमाडौं आउदै हुनुहुन्छ । उहाँहरुको सम्मानमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साँझ रात्रीभोजको आयोजना गर्नुभएको छ ।
उच्च अधिकारीको बैठकमा सहभागी हुन आउनुभएका सदस्य राष्ट्रका सचिवहरुको सम्मानमा परराष्ट्र सचिव शंकरदास बैरागीले हिजो साँझ होटल याक एण्ड यतिमा रात्री भोज सहितको स्वागत कार्यक्रम राख्नुभएको थियो ।
विमस्टेकको चौथो शिखर सम्मेलनमा यही भदौ १४ र १५ गते काठमाडौंको होटल सोल्टीमा आयोजना हुँदैछ ।