काठमाडौं, १७ भदौ। नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले केहीबेर अघि खुलेको छ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विहान ८ बजेर २५ मिनेटमा विमानस्थल खुलेको हो।रातभरिनै क्रेन र स्काभेटरमार्फत जहाज तान्ने प्रयास भएको र विहान मात्रै पन्छाउने सफलता मिलेको थियो ।
शनिवार बेलुका नेपालगञ्जबाट चार्टर्ड गरेर ल्याइएको यतिको जहाज जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएपछि शनिबार रातीका सबै उडानरअवतरण ठप्प भए।
विमानस्थल बन्द भएका कारण नेपाल वायुसेवा निगमको एयरबस ३३० दिल्ली फिर्ता पठाइएको थियो भने चाइना सदर्न एयरको विमान ढाका डाइभर्ट गरिएको थियो। फ्लाई दुबईको विमानलाई लखनउ डाइभर्ट गरिएको थियो।
राति १० बजे अवतरण गर्नुपर्ने क्याथे ड्रागनको हङकङबाट आएको विमान भने वीरगञ्ज र हेटौडाको आकाशमा होल्ड हुँदै घुमिरहे पनि अवतरण गर्न सक्ने अवस्था नदेखिएपछि मध्यरात १२ बजेपछि ढाका डाइभर्ट गरिएको थियो।
शनिबारदेखि २२ घण्टा विमानस्थल खुल्ने भनिए पनि दुर्घटनाका कारण पहिलो दिननै विमानस्थल लामो समय बन्द गर्नुपरेको छ। शनिबारदेखि विमानस्थल बिहान ३ बजेदेखि ५ बजेसम्म मात्र बन्द हुने तयारी गरिएको थियो ।


















