काठमाडौँ, २४ पुसः आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशी प्रदेश अन्य समूहतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।अन्य समूहतर्फ कांग्रेसका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । निर्वाचनका लागि कोशी प्रदेशको अन्य, दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै दलित र महिला समूहतर्फ कांग्रेस र एमाले गठबन्धनबाट सोम पोर्तेले र रोश्नी मेचेले मनोनयनपत्र दर्ता गराउनुभएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीले दलित र महिला समूहतर्फ खेमराज सुन्दास र नमिता न्यौपानेले मनोनयन दर्ता गर्नुभएको छ ।
उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
उम्मेदवारहरुको सूची सार्वजनिक
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचीअनुसार १८ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।