दोहा(कतार), २४ पौष । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै कतारको दोहामा कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा अध्यक्ष ढकालले नेपाल–कतारबीचको निजी क्षेत्र सहकार्यलाई संयुक्त परियोजना र परिणाममुखी साझेदारीतर्फ लैजानुपर्नेमा जोड दिनुभएको उहाँले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
भेटवार्ताको अवसरमा अध्यक्ष ढकालले नेपाल र कतारबीचको सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरको विश्वास र सहकार्यमा आधारित रहेको स्पष्ट रूपमा राख्नुभएको थियो ।
भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा ऊर्जा, पूर्वाधार, वित्त, पर्यटन, सेवा र लजिस्टिक्स जस्ता क्षेत्रमा सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी गराउनुभएको थियो ।
नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, स्वास्थ्य र शिक्षामा आकर्षक लगानी अवसरहरू उपलब्ध रहेको उल्लेख गर्दै उहाँले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न र नेपाली व्यवसायीलाई पनि कतारमा सेवा, पर्यटन, सीप विकास तथा साना तथा मझौला उद्यमका क्षेत्रमा अवसर खोज्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा कतार चेम्बरका अध्यक्ष थानीले नेपाल–कतार आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै संयुक्त वाणिज्य परिषद्लाई छिट्टै अन्तिम रूप दिने विषयमा सकारात्मक धारणा व्यक्त गर्नुभएको थियो ।
यसै अवसरमा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा पनि दिनुभएको थियो । सो निमन्त्रणालाई उहाँहरूले स्वीकार गर्नुभएको जानकारी महासंघका अध्यक्ष ढकालले दिनुभएको छ।
अध्यक्षले भेटवार्ता पछि भन्नुभएको छ, संवादलाई अब परिणाममा बदल्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजान महासंघ प्रतिबद्ध छ।


















