काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका पदाधिकारीहरुसहित आज बिहान निर्वाचन आयोग पुग्नुभएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन समूहले बिहिबार निर्वाचन आयोग पुगेर नवनिर्वाचित कार्यसमिति नै आधिकारिक भएकोले अब उप्रान्त नेपाली कांग्रेसका नामबाट हुने सबै काम नयाँ कार्यसमितिमार्फत गरिनुपर्ने र आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनमा नवनिर्वाचित कार्यसमितिमार्फत काम कारवाही गरिनुपर्ने निवेदन दिएपछि पार्टीको आधिकारिकताको जानकारी गराउन कार्यवाहक सभापति सहितको टोली निर्वाचन आयोग पुगेको हो ।
शुक्रबार निर्वाचन आयोग पुग्नुभएका कांग्रेस कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन्,’ उनले भने, ‘त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं ।’
कार्यवाहक सभापति खड्काले १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै कांग्रेसको आधिकारिक भएको जिकिर गर्नुभएको छ ।
उहाँले आधिकारिकता दाबी गर्दै पार्टीको आधिकारिक कागजातहरु कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनुभएको छ ।


















