Prakash Adhikari January 19, 2026

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र प्रत्यासी डा. शेखर कोइरालासंग समन्वय गरेर टिकट वितरण गर्ने र गर्नुपर्ने सुसमाचार सुनेर बसेका काग्रेस कार्यकर्ताहरुलाई सोमबार साँझ पुनः निराश बनाउने खबर आएको छ ।

विशेष महाधिवेशनका लागि उत्प्रेरित गर्ने र नियमित महाधिवेशन समयमा माग गर्ने डा. शेखर कोइरालाको सचिवालयले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेद्वारहरुको छनोट गर्ने सम्बन्धमा डा.कोइरालालाई हालसम्म विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट कुनै सम्पर्क नगरिएको जानकारी सार्वजनिक गरेको छ ।

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारीको लागि भन्दै यस्तो सन्देश सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ, “देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड लागेको छ । तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन ।

जहाँसम्म डा शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आईरहेको छ त्यसमा सत्यता छैन । आज सम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन ।”

Share Now