Prakash Adhikari February 10, 2026

 

कोलम्बो(श्रीलंका), २७ माघ । १० औं आइसीसी टी २० विश्वकप अन्तरगत मंगलबार श्रीलंकाको राजधानी कोलम्बोमा भएको १२ औं खेलमा पाकिस्तानले दोस्रो जित निकालेको छ। समूह ‘ए’ का पाकिस्तान र अमेरिकाबीच भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो।

यो जितसँगै पाकिस्तान ४ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ। पाकिस्तानले यसअघि पहिलो खेलमा नेदरल्यान्डलाई ३ विकेटले हराएको थियो।

अमेरिका लगातार दोस्रो खेलमा पराजित भएको छ। उसले पहिलो खेलमा भारतसँग हार व्यहोरेको थियो।

१ सय‌ ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो।

अमेरिकालाई रोक्न पाकिस्तानका उसमान तारिकले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा २७ रन दिए। सदाव खानले २, सैम अयुव, अबरार अहमद र मोहम्मद नवाजले समान १ विकेट लिए।

अमेरिकाका लागि शुभम रञ्जानेले ५१ रन बनाए। उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सायन जहानगिरले ४९ रन जोडे। मिलिन्द कुमारले २९ र आन्द्रेस गाउसले १३ रन बनाए।

श्रीलंकाको कोलोम्बोस्थित सिन्हालिज स्पोर्ट्स क्लब मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।

पाकिस्तानका लागि साहिवजादा फरहानले शानदार अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र ५ छक्कासहित ७३ रन जोडे। बाबर आजमले ४६ र सदाव खानले ३० रन बनाए।

समूह चरणको तेस्रो खेलमा पाकिस्तानले आइतवार सदाबहार प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ।

अमेरिकाले शुक्रबार चेन्नइमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

 

Share Now