पोखरा(कास्की), २ फागुन । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण अन्तरगत शनिवार भएको खेलमा नेपाल पुलिसलाई पराजित गर्दै आयोजक सहारा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार पोखरा रंगशालाको घरेलु मैदानमा विभागीय नेपाल पुलिस फुटबल क्लबलाई सडन डेथको हराउँदै सहारा क्लब अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि थप ३० मिनेटमा दुवै टिमबाट गोल हुन सकेन ।
त्यसपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टीमा निर्धारित ५–५ प्रहारमा दुवैतर्फबाट ४–४ को बराबरी गोल भएकोमा खेल सडन डेथमा पुगेको हो ।
थप २–२ प्रहारमा पुलिसका कप्तान राम वाजी सफल भए भने धीरेन्द्र शाहको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले बचाए।
सहाराका तर्फबाट विक्की चाम्लिङ राई, भगत चौधरी, शिसम थापा, विनय तामाङ, प्रसन्न श्रेष्ठ र टेये डेनियल बडरुको प्रहार गोलमा परिणत भएको थियो । त्यसैगरी, पुलिसका लागि नीरज खड्का, दशरथ गिरी, जोन विष्ट, वैकल्पिक गोलकिपर अमित टमाटा र सञ्जिव लामाले गोल गरे ।
सहाराका गोलकिपर टिकेन्द्र प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार र ट्रफी पुरस्कार प्राप्त गरे।
तर आहा राराको सर्वाधिक सफल टोली पुलिसले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।
सहारालाई यो खेलमा भाग्यले पनि साथ दियो । उसले ६१ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी खेलेको थियो । पाएको पेनाल्टीमा मुकुन्दकुमार न्यूरेले सहजै गोल गरेका थिए ।
सहाराले यो जितसँँगै पहिलो सेमिफाइनल खेल अब मनाङ मर्स्याङ्दी र थन्डरबोल्ट नर्थ युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि, सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेशनललाई १-० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरु गरेको हो ।
आइतबार दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड क्लब र जावलाखेल युथ क्लबीच हुनेछ । यसअघि, पहिलो चरणमा जावलाखेलले मच्छिन्द्र क्लबको चुनौती २-० गोलअन्तरले पन्छाएको थियो । थन्डरबोल्डले भने बाई पाएको हो ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले प्रतियोगितामा हारजित स्वाभाविक हुने उल्लेख गर्दै आगामी ए डिभिजन लिगका लागि हरेक खेलाडीलाई स्थान दिएर तयार गरिएको बताए ।
सहाराका प्रशिक्षक सुनिल राना मगरले लामो समय तालिम गरेको पुलिस जस्तो बलियो टिमलाई हराउन सकेकोमा सन्तुष्टि व्यक्त गरे । उनले आफ्ना खेलाडीले राम्रो खेलेको र स्कोर निकाल्ने कोसिस सुरुआतदेखि गरेको उल्लेख गरे ।


















