Prakash Adhikari March 4, 2026

झापा, २१ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गर्नुभएको छ ।

यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् ।

झापाका पाँच निर्वाचन क्षेत्रमा सात लाख १३ हजार ५३७ जना मतदाता छन् । यहाँ ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कांग्रेस सभापति गगन थापा मैतिदेवी मतदान केन्द्रमा मतदान गर्न निस्कनुभएको उहाँका निकट सहयोगी पत्रकार जीवन भण्डारीले जानकारी दिनुभएको छ ।

पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

मतदानपछि उहाँले भन्नुभएको छ, “आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ।मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ।”

Share Now