Prakash Adhikari March 4, 2026

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आआफ्ना नामावली समावेश भएका मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार र समानुपातिक तर्फका राजनीतिक दललाई मतदान गर्नुभएको छ ।

 

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौँको पूरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि रासससँगको कुराकानीमा उहाँले जनताको दैनिक जीवन र सुखदुःखमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरुको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुखदुःखमा ध्यान देओस् भन्ने जनअपेक्षा पूरा होस् ।”

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले राससलाई जानकारी दिनुभयो ।

Share Now