काठमाडौँ, २१ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाले आआफ्ना मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गर्नुभएको छ ।
कांग्रेस सभापति थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताउनुभयो ।
“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उहाँले भन्नुभयो, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”
नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार हुनुहुन्छ ।
डा. शेखरद्धारा मतदान, सबै मिलेर निकास खोज्नुपर्ने धारणा व्यक्त
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिहीबार विराटनगर महानगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रबाट बिहान करिब ८ः४० बजे मतदान गर्नुभएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवारसमेत रहेका कोइरालाले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै देश अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा उदाउने दाबी गर्दैनिर्वाचन परिणामपछि सिट संख्याका आधारमा सरकार गठनको प्रक्रिया अघि बढाउने र संविधान सुधारसहित देशलाई स्थायित्वतर्फ लैजाने पहल कांग्रेसले नै गर्ने बताउनुभयो ।
उहाँले राजनीतिक, सामाजिक र आर्थिक अस्थिरताले देशलाई चुनौतीपूर्ण अवस्थामा पुर्याएको भन्दै सबै राजनीतिक दलले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
“देश अहिले अप्ठेरो परिस्थितिमा छ । यस्तो अवस्थामा दलहरूबीच सहकार्य र सहमति अपरिहार्य हुन्छ । सबै मिलेर देशलाई निकास दिनुपर्छ,” उहाँले भन्नुभयो ।
“संविधानलाई समयअनुकूल सुधार गर्दै देशलाई स्थायित्व दिनु आवश्यक छ । त्यसका लागि सबैलाई मिलाएर अघि बढ्ने पहल कांग्रेसले गर्छ,” उहाँले भन्नुभयो, “देशलाई निकास दिने नेतृत्व कांग्रेसले नै गर्नुपर्छ र गर्नेछ ।”
उहाँका अनुसार निर्वाचनको समग्र परिदृश्य हेर्दा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ । ठूलो दल बनेपछि लोकतान्त्रिक मूल्य–मान्यता, स्थायित्व र समावेशीतालाई आधार बनाएर सरकार गठनको प्रक्रिया अघि बढाइने छ ।


















