काठमाडौं, २८ बैशाख । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको शेयर बजार यस दिन पनि उकालो लागेको हो।
सोमबार नेपालको धितोपत्र बजार परिसूचक ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३२ स्टकको १ करोड ४ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४।१९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कुमारी धनवृद्धि योजनाको इकाइमूल्य किरब साढे ११ प्रतिशत बढेको छ भने दोल्ती पावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।


















