Prakash Adhikari May 14, 2026

 

पोखरा(कास्की), ३१ बैशाख। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा रहेर काम गर्ने सदस्यहरूका समस्या सुन्न र समाधान गर्नका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्न लागिएको बताउनुभएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाको उद्घाटन गर्दै उहाँले पार्टीका सबै सदस्यलाई केन्द्रसँग सदस्यहरूलाई प्रत्यक्ष जोड्नका लागि सदस्यता अद्यावधिक गर्न लागिएको बताउनुभयो। यसबाट पार्टी सङ्गठनलाई आमसदस्यको भावनाअनुसार अघि बढाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

पार्टीलाई सङ्गठित र एकताबद्ध बनाएर लैजाने प्रयास निरन्तर भइराखेको बताउँदै सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्न आग्रह गर्नुभयो।

राज्य र नागरिकबीचको सेतुका रूपमा पार्टी रहेको बताउँदै उहाँले पार्टीबाट जिम्मेवारी पाएर निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्दै जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। सरकार संविधान, विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै उहाँले विधि पद्धतिअनुसार नचलेमा कांग्रेसले निरन्तर खबरदारी गर्ने बताउनुभयो।

नेपाली कांग्रेसका उपभापति विश्वप्रकाश शर्माले समाज रुपान्तरणका लागि सबै एकताबद्ध भएर जानुको विकल्प नभएको धारणा राख्नुभयो। सङ्घीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कांग्रेसले सरकारलाई साथ दिने बताउँदै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वको सरकारले गरेका कामबाट कोही पनि पार्टी सदस्यले शिर निहुराउनु नपर्ने जिकिर गर्नुभयो। पार्टीलाई भावनात्मक रूपमा एक बनाएर अघि बढाउन उहाँले आग्रह गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई तल्लो तहबाटै बलियो बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको मन जित्ने गरी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीका स्थापनाकालीन मूल्य र आदर्शलाई लिएर जान सकेमा त्यसले पार्टीलाई बलियो बनाउने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शर्मा, नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री विष्णुप्रसाद लामिछानेलगायत वक्ताले आआफ्नो धारणा राख्नुभएको थियो।

शुक्रबारसम्म सञ्चालन हुने भेलामा प्रदेशभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष ११ वटै जिल्ला सभापति, कास्की जिल्लाका महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यलगायत ३ सय ८० जनाको सहभागिता रहेको नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवम् प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभएको छ।

Share Now