Prakash Adhikari May 18, 2026

काठमाडौँ, ४ जेठ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन् ।एमाले केन्द्रीय समितिका एक पदाधिकारीले केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी भएको बताउनुभएको छ ।

उहाँका अनुसार हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्न सक्ने संभावना छ ।

बैठकमा सरकारका कामकारवाहीको समीक्षा समेत गरिने बताइएको छ ।

Share Now