काठमाडौं, २ साउन। नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ।
शुक्रवार साँझ काठमाडीको विशालनगरस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो।
क्यान्सरबाट पीडित पाण्डे परिवारको साथमा रहेका बेला बित्नुभएको हो। उहाँलाई उपचारार्थ पाटन अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएपछि अन्तिम समय घरमै ल्याइएको थियो। उहाँलाई करिब तीन महिनाअघि प्याङक्रियाजको क्यान्सर पुष्टि भएको थियो।
बृद्धावस्थाको कारण उहाँलाई गम्भीर उपचार नगराई दुखाइ कम गर्ने औषधि र नियमित हेरचाहका साथ घरमै विश्राम गराइएको थियो ।
उहाँको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।
२०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा २०४७(२०४८ सम्म अर्थमन्त्री रहनुभएका पाण्डेले अर्थतन्त्र सुधारका प्रयास गर्नुभएको थियो। त्यसअधि उहाँ नेपाल सरकारको प्रशासनिक सेवामा प्रवेश गरी अर्थसचिवसम्म पुग्नुभएको थियो।
२०६२र६३ को लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै उहाँले लोकतन्त्र, सुशासन, मानव अधिकार, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी शासनका पक्षमा निरनार आवाज उठाउनुभएको थियो।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले अर्थनीति, लोकतन्त र विकासका विश्यमा नेपाली तथा अंग्रेजी भाषामा दर्जनी पुस्तक लेख्नुभएको छ ।
उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालको आर्थिक अध्ययन र नागरिक चेतनाको एउटा उज्यालो बत्ती निभेको बताउनुभएको छ। उहाँले पाण्डेलाई केवल अर्थशास्त्री नभई सार्वजनिक विवेकको आवाजका रुपमा स्मरण गर्दै सरकारभित्र वा बाहिर जहाँ रहे पनि सत्यको पक्षमा उभिने निर्भीक र सिद्धान्तनिष्ठ व्यक्तित्व रहेको उल्लेख गर्नुभएको छ
।
खनालले पाण्डेको निधनले नेपालको बौद्धिक र नागरिक क्षेत्रमा ठूलो रिकता सिर्जना गरेको भन्दै उहाँले देखाएको मूल्य, इमान्दारिता र लोकतान्त्रिक चेतना आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गर्नुभएको छ।








