मियामी(संयुक्त राज्य अमेरिका), २ साउन(एजेन्सी)। फिफा विश्वकप २०२६ अन्तरगत आज मध्यरातपछि तेस्रो स्थानका लागि भिडन्त हुँदैछ ।
फाइनल पुग्न अग्रसर फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागि मैदान उत्रिने छन् ।
त्यसैले आइतबार बिहान हुने यो खेल केवल तेस्रो स्थानका लागि मात्र होइन, अधुरो सपनालाई सम्मानजनक अन्त्य दिने संघर्षका रूपमा पनि हेरिएको छ ।
हालसम्मको यात्रा
इंग्ल्यान्डले समूह चरणमा क्रोएसियामाथि ४–२ को प्रभावशाली जितसँगै अभियान सुरु गरेको थियो । त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको टोलीले पानामालाई २–० ले हराउँदै समूह विजेता बन्यो ।
नकआउट चरणमा थोमस टुचेलको टोलीले कठिन बाटो तय गर्यो । राउन्ड अफ ३२ मा डीआर कङ्गोलाई २–१ ले पराजित गरेको इंग्ल्यान्डले राउन्ड अफ १६ मा सह–आयोजक मेक्सिकोलाई अतिरिक्त समयमा ३-२ ले हरायो । क्वार्टरफाइनलमा नर्वेविरुद्ध पनि पुनरागमन गर्दै २–१ को जित निकालेको टोली सेमिफाइनलमा भने अर्जेन्टिनासँग २–१ ले पराजित भयो ।
फ्रान्सले भने समूह चरणमा लगातार प्रभावशाली प्रदर्शन गर्दै नकआउटमा स्थान बनाएको थियो । त्यसपछि नकआउटमा पनि उत्कृष्ट लय कायम राख्दै सेमिफाइनलसम्म पुगेको टोली स्पेनविरुद्ध भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन ।
लामो समय बल नियन्त्रण गर्न नसकेको फ्रान्स अन्ततः स्पेनसँग २-० ले पराजित हुँदै उपाधि दौडबाट बाहिरियो ।
हेड टु हेड
विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीच पछिल्ला केही वर्षमा निकै प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन् । विश्वकप र युरोपियन च्याम्पियनसिप दुवैमा यी टोलीले एकअर्कालाई कठिन चुनौती दिएका छन् ।
हालसम्म यी दुई टोली ३२ पटक आमनेसामने हुँदा इंग्ल्यान्डले १७ खेल जितेको छ भने फ्रान्सले १५ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएका छन् ।
फिफा विश्वकप इतिहासमा भने इंग्ल्यान्डले २ खेल जित्दा फ्रान्सले १ खेल जितेको छ ।
प्रतिष्ठाको लडाइँ
विश्वकपमा तेस्रो स्थानको खेललाई धेरैले सान्त्वना खेल मान्ने गर्छन् । तर दुवै टोलीका लागि यसको महत्त्व कम छैन ।
इंग्ल्यान्डले सन् १९६६ पछि दोस्रो विश्वकप उपाधिको सपना देखेको थियो । लगातार दोस्रो पटक सेमिफाइनलमा पुगे पनि फेरि फाइनलको ढोका खोल्न सकेन । अब कम्तीमा पदकसहित प्रतियोगिता टुंग्याउने लक्ष्य हुनेछ ।
फ्रान्स पनि लगातार तेस्रो विश्वकप फाइनल खेल्ने आशामा थियो । तर स्पेनसँगको हारले त्यो सपना अधुरै रह्यो । त्यसैले डिडिएर डेसच्याम्प्सको टोलीका लागि पनि तेस्रो स्थानले प्रतियोगिताको अन्त्य केही सकारात्मक बनाउन सक्छ ।
व्यक्तिगत उपलब्धिको दौड पनि
यो खेल व्यक्तिगत उपलब्धिका हिसाबले पनि महत्त्वपूर्ण हुनेछ । फ्रान्सका किलियन एमबाप्पे अझै गोल्डेन बुटको दौडमा छन् । उनले यस खेलमा सुरुवातदेखि नै खेलेर थप गोल गर्दै व्यक्तिगत पुरस्कार जित्ने प्रयास गर्नेछन् ।
इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङहमले पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषगरी बेलिङहमले नकआउट चरणमा लगातार निर्णायक गोल गर्दै आफ्नो प्रभाव देखाएका थिए ।
सम्भावित टोली
दुवै प्रशिक्षकले केही परिवर्तन गर्न सक्ने सम्भावना छ । लामो प्रतियोगितापछि केही प्रमुख खेलाडीलाई विश्राम दिँदै बेन्चका खेलाडीलाई अवसर दिने सम्भावना पनि उत्तिकै छ।
इंग्ल्यान्डमा बुकाायो साका, एन्थोनी गोर्डन, मार्कस रासफोर्ड वा कोल पाल्मरमध्ये केहीलाई सुरुवाती रोजाइमा देख्न सकिन्छ ।
फ्रान्सले पनि माइकल ओलिसे, ब्राड्ली बारकोला, एडुआर्डो कामाभिङ्गा वा रान्डल कोलो मुआनीलाई सुरुवातबाट खेलाउन सक्छ ।
प्लेयर्स टु वाच
फ्रान्सका लागि किलियन एमबाप्पे नै मुख्य खेलाडी हुनेछन् । उनी गोल्डेन बुटको पनि दौडमा रहेकाले उनले इंग्ल्यान्ड विरुद्ध कम्तीमा एक गोलको प्रयास पक्कै गर्ने छन् ।
यस्तै ओस्मान डेम्बेले पनि फ्रान्सको प्लेयर टु वाचका रूपमा रहने छन् । उनले दाँया विङबाट किलियन एमबाप्पेलाई पास मिलाउनेसँगै आफैं गोल गर्न समेत माहिर छन् ।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन मुख्य खेलाडी रहने पक्का छ । केन पनि गोल्डेन बुटको रेसमा त छन् तर उनको सम्भावना भने मेसी र एमबाप्पेभन्दा धेरै कम छ ।
यस्तै जुड बेलिङहम पनि फ्रान्सविरुद्ध चम्किन सक्छन् । बेलिङहम र केनको जोडी कास्य पदकको यो खेलमा निर्णायक बन्न सक्छ ।
सम्भावित सुरुआती–११
फ्रान्स: माइक मेग्नन; जुलियस कोन्डे, इब्राहिमा कोनाटे, माक्सेन्स लाक्रोइक्स, थियो हेर्नान्डेज; मानु कोने; माइकल ओलिसे, ओस्मान डेम्बेले, रायन चेर्की; किलियन एमबाप्पे
इंग्ल्यान्ड: जोर्डन पिकफोर्ड; रिस जेम्स, एजरि कोन्सा, मार्क गेही, निको ओ’रिली; डेक्लान राइस, एलियट एन्डरसन; बुकायो साका, जुड बेलिङहम, एन्थोनी गोर्डन; ह्यारी केन








