काठमाडौँ, १५ जेठ । आज गणतन्त्र दिवस हो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते देशबाट राजतन्त्र उन्मूलन गरी गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो ।
तात्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते राज्यको सम्पूर्ण शक्ति हातमा लिई निरंकुश शासन चलाएपछि देश गणतन्त्रतर्फ उन्मुख हुँदै गएको हो । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्ष एकाकार भएर यो उपलब्धि हासिल भएको थियो ।
राजाको निरंकुशताविरुद्ध सुरु भएको २०६२।६३ को शान्तिपूर्ण आन्दोलनले राजाद्धारा विघटित प्रतिनिधिसभा २०६३ बैशाख १२ गते शाही घोषणाबाट पुनस्थापित हुन गएको थियो । पुनस्थापित प्रतिनिधि सभाले राजाको अधिकार कटौती गर्दै अन्तरिम संविधान जारी गरेर अन्तरिम व्यवस्थापिका संसद गठन गरेको थियो ।
गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयन गरिने प्रावधान राखेको थियो । सोही अनुरुप जेठ १५, २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकमा गणतन्त्र कार्यान्वयनको प्रस्तावमाथि मतदान भएको थियो । मतदानमा राजतन्त्र उन्मूलन गरी गणतान्त्रिक व्यवस्था अबलम्बन गर्ने पक्षमा बहुमत परेको थियो । यसको घोषणा संविधान सभाको पहिलो बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य कुलबहादुर गुरुड.ले गर्नुभएको थियो ।
यसरी नेपालमा राजतन्त्रको उन्मूलन गरी गणतान्त्रिक शासन व्यवस्थाको सूत्रपात भएको घोषणा भएको थियो ।
गणतन्त्रको घोषणा भएपछि तात्कालीन सरकार प्रमुख तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपतिको निर्वाचन नभएसम्म राष्ट्रप्रमुखको कार्यभार पनि सम्हाल्नुभएको थियो ।
नेपाललेगणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिएको हो ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो ।
पहिलो संविधानसभाले संविधान बनाउने आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर कार्यकाल गुजारेपछि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस संविधानसभाको सबैभन्दा ठूलो दलको रुपमा विजयी भएर आयो । कांग्रेसको नेतृत्वमा रहेको संयुक्त सरकारको नेतृत्व र समन्वयमा दोस्रो संविधानसभाले संघीयता, गणतन्त्र, समानुपातिक र समावेशितासहितको नेपालको संविधान निर्माण गरेर २०७२ असोज ३ गते संविधानसभामा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट जारी गराएको थियो ।
सो संविधानले देश र जनताको समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान सम्पूर्ण नागरिकलाई सबै अधिकारको सुनिश्चितता प्रदान गरेको छ । हरेका नागरिकलाई शिक्षा, स्वास्थ्य, पोषण, बसोबास, सुरक्षा, रोजगारी प्रदान गरी प्रतिष्ठापूर्वक बाच्न पाउँने अधिकार संविधानले प्रत्याभूत गरेको छ ।
विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले यसलाई जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो माध्यमको रुपमा विकसित र समयानुकूल परिस्कृत गर्दै जानुपर्ने आवश्यकता छ ।








