Prakash Adhikari September 23, 2018

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ७ असोज । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी ओली न्यूयोर्क आईपुग्नु भएको छ ।

न्यूयोर्कस्थित जोन अफ केनडी अन्तराष्टिय विमानस्थलमा उत्रिनुभएका प्रधानमन्त्रीलाई विमानस्थलमा अमेरिकाकालागि नेपाली राजदूत अर्जुन कार्कीले स्वागत गर्नुभएको थियो ।एअरपोर्टमा अमेरिकामा रहेका नेपाली र न्यूयोर्कस्थित नेपाली राजदूतावासका कर्मचारी पनि पुगेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, स्वकीय सचिब राजेश बज्राचार्य, दमक नगरपालिकाकी उपप्रमुख गीताकुमारी पौडेल अधिकारीसहित २१ जना सदस्य रहनु भएको छ ।

प्रधानमन्त्रीले असोज ८ गते हुने नेल्सल मण्डेला शान्ति सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले आयोजना गर्ने शान्ति, लोकतन्त्र र विकास विषयमा सार्वजनिक मन्तव्य दिने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले विभिन्न द्विपक्षीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मिसेस ट्रम्पले आयोजना गर्ने रात्री भोजमा प्रथम महिला राधिका शाक्यसहित प्रधानमन्त्री ओली सहभागी हने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले असोज १० गते स्विटजरल्यान्डका राष्ट्रपतिसँग द्विपक्षीय हितका बिषयमा छलफल गर्नुहुने कार्यक्रम छ । सोही दिन भियतनामको स्वतन्त्रता दिवसको कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।

असोज ११ गते प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गटरेससँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालको नीति तथा योजनाको बारेमा मन्तव्य दिने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा नेपाली प्रतिनधिमण्डल सहित सहभागी हुने कार्यक्रम रहेको छ ।

यसैगरी असोज १२ गते प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच द्विपक्षीय हितका बिषयमा कुराकानी हुनेछ ।

असोज १३ गते प्रधानमन्त्री ओली कोष्टारिका पुग्ने कार्यक्रम छ । कोस्टारिकामा युनिभर्सिटी अफ पिस इन स्यान्जोसलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन कोस्टारिकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । कोस्टारिका प्रधानमन्त्री ओली चार दिन रहने कार्यक्रम छ । कोस्टारिकाबाट प्रधानमन्त्री ओली १६ गते न्यूयोर्क फर्कने कार्यक्रम छ ।

१७ गते प्रधानमन्त्री ओली न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नुहुनेछ । १८ गते अपरान्ह ३।४५ बजे त्रिभूवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.