- सञ्जय ढकाल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २१ जेठ । अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि सुरु हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम सङ्गठनले चेतावनी दिएको छ।
कैयन् देशका मौसम निकायहरूले गरेको प्रक्षेपणअनुसार यो वर्षको एल निन्यो हालसम्मकै शक्तिशाली हुन सक्छ – जसलाई सुपर एल निन्यो पनि भनिएको छ।
प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम केही तात्तिँदा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।
नेपाल र समग्र दक्षिण एसियामा मनसुनको याम सुरु हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्।
कति पर्ला प्रभाव
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा दीपक अर्याल एल निन्योका कारण नेपालको मनसुनमा पर्ने प्रभाव विभिन्न खालको हुने बताउनुहुन्छ ।
“मनसुनको प्रारम्भिक समयमा (जुन-जुलाई)मा यसले कम पानी पार्ने हुन सक्छ भने त्यसपछि कतैकतै धेरै वर्षा हुन सक्छ”, प्राध्यापक अर्यालले बताउनुभयो ।
प्रशान्त महासागरको सतही तापक्रम तथा पर्यावरणीय अवस्थासँग सम्बन्धित ुएल निन्योु तथा सदर्न असिलेशन (ईएनएसओ) र हिन्द महासागरमा देखा पर्ने इन्डिएन ओशन डाइपोल (आईओडी)का साथै अन्य वातावरणीय अवस्थाको अध्ययन गरेर सरकारको जलवायु तथा मौसम विज्ञान विभागले गरेको आकलनमा पनि यो वर्ष मनसुन केही कमजोर हुन सक्ने पाइएको छ।
साथै अधिकतम र न्युनतम दुवै किसिमका तापक्रम पनि देशैभरि सरदरभन्दा बढी हुने उसको प्रक्षेपण छ।
“समग्रमा यो वर्ष हामीकहाँ केही कम पानी पर्ने नै प्रक्षेपण गरिएको छ”, विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो ।
“तर के पनि भइदिन्छ भने सरदरभन्दा कम पर्ने अवधिमा पनि कतैकतै विषम मौसम प्रणालीले वर्षाको सक्रियता झन् बढ्ने वा मनसुन ब्रेक (शिथिल) हुने समय लम्बिने पनि हुन सक्छ”, उहाँले भन्नुभयो।
“विगतमा एल निन्यो भएका समयमा हामीकहाँ पानी कम पर्ने गरेको छ। तर त्यसो भन्दैमा यो वर्ष बाढीपहिरोजस्ता विपद पनि कम होला भनेर अनुमान गर्नु हुन्न। किनभने सुक्खा भइरहँदा पनि अकस्मात् ठूलो वर्षा भइदिन सक्छ”, मौसमविद् तथा विभागका पूर्व महानिर्देशक कमल राम जोशीले बताउनुभयो।
उहाँले पोहोरको उदाहरण दिँदै भन्नुभयो, “तराईमा सुक्खाको स्थिति भएको थियो। अनि असोजमा चाहिँ बेस्सरी पानी पर्यो।” गत वर्ष दशैँलगत्तै काठमाडौंसहित देशका विभिन्न भागमा निकै ठूलो वर्षा भएको थियो।
तर मौसमसम्बन्धी प्रक्षेपणहरू सधैँ शत प्रतिशत नमिल्न सक्ने भएकाले सबै किसिमका परिस्थितिका निम्ति तयार रहनु बेस हुने विज्ञहरूको सुझाव हुने गर्छ।
“पानी कम पर्नु भनेको आफैँमा राम्रो कुरा होइन। कृषि एवं जलविद्युतजस्ता क्षेत्रमा यसले नराम्रो असर पार्छ। त्यसैले चनाखो हुन पर्छ। विगत दुई वर्ष हामीले गरेका प्रक्षेपणहरू धेरै मिलेका छन्। अघिल्लो वर्ष प्रक्षेपणलाई गम्भीरतापूर्वक लिँदा धनजनको क्षति अलि कम भएको पनि थियो”, प्राध्यापक अर्यालले भन्नुभयो।
धानमा पर्न सक्ने असर
देशको कुल खेतीयोग्य जमिनको एक तिहाइमा अझै सिँचाइ सुविधा नपुगेका कारण आकासेपानीमा निर्भरता हटेको छैन।
त्यसमा पनि नेपालको मुख्य बाली धानलाई मनसुनले सोझै प्रभाव पार्छ। अनि धान उत्पादनले देशको कुल गार्हस्थ्य उत्पादन जीडीपीमा धेरै प्रभाव पार्छ।
गत वर्ष पनि मनसुनको समयमा लामो समयसम्म तराई क्षेत्रमा पर्याप्त पानी परेन। फलस्वरूप यो वर्षको धान उत्पादन ४ प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा खस्किएको छ।
आगामी वर्ष आकलन गरेजस्तै सुक्खा भयो भने धानको उत्पादनमा थप गिरावट आउन सक्ने चिन्ताका माझ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानहरूलाई सुक्खा याममा पनि फस्टाउन सक्ने धानका प्रजातिको बिउ उपयोग गर्न सुझाव दिइरहेको छ।
“हामीले सुक्खा मौसममा फल्न सक्ने अनि रोप्दा पनि धेरै हिल्याउन नपर्ने तथा अचानक डुबान आइपर्यो भने समेत सहन सक्ने किसिमका विविध प्रकारका बिउको विकास गरेका छौँ “, नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठले बताउनुभयो।
“ठाउँ र अवस्थाअनुसार हामीले विभिन्न बिउबिजन कम्पनीमार्फत् यी धान उपलब्ध गराउने गरेका छौँ। यसको उत्पादन अन्य धानको उत्पादन सरह नै हुने पाइएको छ।”
नार्कले किसानहरूलाई कम पानी परे पनि राम्रो उत्पादन दिन सक्ने अनि खडेरी सहन सक्ने धानका प्रकारहरूका अतिरिक्त जलवायुमैत्री भनिएको ‘सुक्खा छरुवा धान खेती’ अपनाउन सल्लाह दिएको छ।
स्थानीय तवरमा किसानहरू स्वयंले पनि मौसमअनुसार अनुकूलन गर्ने गरेको श्रेष्ठले बताउनुभयो।
मनसुन कहिले भित्रिएला?
मनसुन भित्रिने र बाहिरिने अवधि एकैनासको नभए तापनि औसत अनुमानमा नेपालमा मनसुनको प्रवेश जुन १३ अनि बहिर्गमन अक्टोबर २ मा हुने ठानिन्छ।
तथापि यो वर्ष हालसम्म भारतको दक्षिणी राज्य केरलामै पनि मनसुनको आरम्भ नभइसकेकाले केही समय ढिलो हुन सक्ने प्रवक्ता विभूति पोखरेलले बताउनुभयो।
भारतीय मौसम विज्ञान विभागले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार केरलामा बिहीवार मनसुनको प्रवेश हुने सम्भावना छ। केरलामा आएको केही सातापछि नेपाल आइपुग्छ।
कति समयसम्म मनसुनको प्रभाव रहिरहन्छ भन्ने विषय पनि सधैँ एकैनासको देखिँदैन। सन् १९७९ मा २४ जुनमा भित्रिएको मनसुन ७३ दिनपछि ४ सेप्टेम्बरमै बाहिरिएको थियो भने सन् २०२२ मा ५ जुनमा भित्रिएको मनसुन १३४ दिनपछि १६ अक्टोबरमा बाहिरिएको थियो।
मनसुनको समयमा नेपालमा सरदर १,५००-१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ। यो वर्ष मनसुनभन्दा अगाडिको समयमा नै करिब ३०० मिलिमिटर वर्षा भइसकेको बताइन्छ।








