ह्वाइटहाउस(संयुक्त राज्य अमेरिका), १ आषाढ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसंगको शान्तिसंझौता सम्पन्न भएको घोषणा गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जाल सोसल ट्रुथ र एक्समार्फत यसको जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ। सबैलाई बधाई छ । म यसद्वारा हर्मुज जलडमरूलाई निःशुल्क खोल्ने पूर्ण अधिकार दिन्छु, र यसैसँगै, संयुक्त राज्य अमेरिकाको नौसेना नाकाबन्दी तुरुन्तै हटाउने अधिकार दिन्छु। विश्वका जहाजहरू, आफ्ना इन्जिनहरू सुरु गर्नुहोस्। तेलको प्रवाह हुन दिनुहोस् ।
राष्ट्रपति ट्रम्पले अगाडि भन्नुभएको छ, यो महान सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति र सुरक्षा ल्याउने छ। धेरै राष्ट्रपतिहरूले इरानसँग शान्ति स्थापना गर्ने प्रयास गर्नुभएको थियो र सबै मेरो अगाडि असफल भए। क्षेत्रका नेताहरूले पहिलो पटक वास्तविक शान्ति प्राप्त गर्न मद्दत गर्न सक्ने राष्ट्रपति फेला पारेका छन्। खानी हटाउने उद्देश्यका लागि शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि जलडमरू खोलिएसँगै, क्षेत्र र विश्वको लागि फेरि दुवै छेउबाट तेलको प्रवाह हुनेछ ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि सहमति भएको ट्रम्प इरान शान्ति सम्झौताको घोषणा गर्नुभएको छ । उहाँका अनुसार संझौतामा मुख्यतः यी कुराहरु सामेल छन् । यो संझौताले(१) इरानलाई आणविक हतियारको पछि लाग्न, खरिद गर्न वा प्राप्त गर्नबाट रोक्छ(२) तुरुन्तै हर्मुजको जलडमरूम खोल्छ(३)अमेरिकी नौसेना नाकाबन्दी हटाउँछ(४)क्षेत्रको लागि ठूलो लगानी खोल्छ ।
इरान र पाकिस्तानको प्रतिक्रिया
बीबीसीले जनाए अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताउनुभएको छ। उहाँका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ।
इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गर्नुभएको छ ।
शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रवार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने छ।
सम्झौतामा समावेश भएका विषयहरूबारे अझै स्पष्ट हुन बाँकी छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि तेलको आपूर्ति सुचारु हुने बताउनुभएको छ। उहाँले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने पनि बताउनुभएको छ ।
युद्ध अन्त्यका लागि सहमति भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ।
इरानका उपविदेशमन्त्रीले इरानी सरकारी सञ्चार माध्यमसँग बताए अनुसार सम्झौताको प्रारूपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधि मण्डल आइतवार तेहरान पुगेको थियो।
उहाँका अनुसार करिब १४-१५ घण्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारूप टुङ्गोमा पुगेको थियो।
्अन्तिम सम्झौताका लागि ६० दिन भित्रमा वार्ता हुने तय भएको उहाँले बताउनुभएको छ।
इरानी सञ्चारमाध्यमहरूले अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र अन्त्य गरिने सहमति भएको जनाएका छन्।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो।
सहमतिका समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको विवरण आएका छन्।
अमेरिका र इरानबीच गत एप्रिलमा दुई साताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए।








