Prakash Adhikari June 15, 2026
  • शरद केसी
    बीबीसी न्यूज नेपाली

काठमाडौं, १ आषाढ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले केही वर्षअघि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बचाउमा प्रयोग गरेका शब्दहरू अहिले पनि धेरैको सम्झनामा छन्।

“यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन”, तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउँदै तत्कालीन मन्त्री श्रेष्ठले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा भन्नुभएको थियो, “केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो, के राजीनामा दे भनेर खुरुक्क राजीनामा दिन्छ?”

तर नेता श्रेष्ठ अहिले ओलीलाई विस्थापित गर्न लागिरहनुभएको छ।

“यो अवस्था हुनुको मूल जिम्मेवार उहाँ (ओली) नै हो, उहाँ सुध्रिने देखिएन”, श्रेष्ठले बीबीसीसँग भन्नुभयो, “अब उहाँको विस्थापनको विकल्प छैन, नत्र पार्टी नै रहँदैन।”

एमालेमा नेतृत्व परिवर्तनको माग चर्किएपछि भएको बैठकले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल बनाएको छ। त्यसले बागमती प्रदेशबाट सुझाव सङ्कलनको काम सुरु गरेको छ।

प्रक्रिया अगाडि
“अब संस्थागत ढङ्गले नेतृत्व परिवर्तनको प्रक्रिया अगाडि बढ्यो”  भन्ने नेता कर्णबहादुर थापाका भनाइमा ओलीका प्रतिकूलता पनि बढेको छ।

र त्यसबारे ओली जानकार पनि रहेको उहाँ ठान्नुहुन्छ, “हामी त महाधिवेशनमा उहाँलाई हराउन लागेका थियौँ, उहाँलाई बनाउन लागेकाहरू पनि अहिले त उहाँलाई हटाउन लाग्नु भएको छ।”

थापाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूतर्फ सङ्केत गर्नुभयो।

पौडेल र पोखरेलबीच समझदारी भएपछि एमाले नेतृत्व परिवर्तनतर्फ अघि बढेको जानकारहरूको आकलन छ। तर दुवै नेताले त्यसबारे सार्वजनिक रूपमा मुख खोल्नुभएको छैन ।

पौडेलले बीबीसीसँगको कुराकानीमा त्यसबारे पछि बोल्ने बताउनुभयो। तर अन्य उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरुङ र रघुजी पन्तले सार्वजनिक रूपमा ओलीको नेतृत्वमा अघि बढ्न नसक्ने अभिव्यक्ति दिइसक्नुभएको छ।

कार्यदलले वाग्मती प्रदेशस्तरीय छलफलअघि र पछि अध्यक्ष ओलीले देखाएको सक्रियतालाई कतिपयले प्रतिरक्षाको अन्तिम प्रयासको रूपमा लिएको पाइन्छ।

उहाँले आफूलाई लामो समय राजनीतिक साथ दिएका नेताहरू पौडेल र पोखरेलतर्फ लक्षित गर्दै लोभी पापी र पार्टी फुटाउन सक्ने आरोप लगाएको समाचार प्रकाशमा आएका छन्।

त्यसलगत्तै एमाले उपमहासचिव योगेश भट्टराईले फेसबुकमा लेख्नुभएको छ, “नेकपा एमालेलाई थप एकताबद्ध बनाऔँ, पार्टी पुनर्गठनको कार्यभारलाई सफल बनाऔँ !”

नेता कृष्णगोपाल श्रेष्ठ कार्यदलले नेतृत्व परिवर्तनको बाटो खोल्ने विश्वस्त हुनुहुन्छ।

“अहिले एमाले त केपी ओलीको प्राइभेट कम्पनीजस्तो छ, तर अब त देश, पार्टी र जनताको हितको निम्ति नेता कार्यकर्ता बोल्नु पर्छ”, उहाँले भन्नुभयो ,”अझैँ न्यायको पक्षमा नबोल्ने हो भने त केही पनि जोगिँदैन, त्यसैले पार्टीलाई एकताबद्ध ढङ्गले पुनर्गठन गर्ने बाटो कार्यदलले खोल्ने विश्वास छ।”

एमाले सचिव महेश बस्नेतले आवश्यकता परेमा तल्ला कमिटीहरू पुनर्गठन गर्ने जिम्मेवारी कार्यदलको भएको बताउनुभएको थियो।

तर कार्यदलले थालेको समीक्षाका क्रममा नेतृत्व परिवर्तनको कुरा जोडदार रूपमा उठेको जानकारहरू बताउँछन्।

बस्नेतले आइतवार फेसबुकमा ‘पार्टी, पार्टीका अध्यक्ष र नेता कार्यकर्तामाथि चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्दै, फैलाइएका भ्रमहरू चिर्दै‘ पार्टीलाई मजबुत रूपमा उभ्याउने‘ सङ्कल्पका साथ बागमती प्रदेश कमिटीको बैठक सम्पन्न भएको’ उल्लेख गर्नुभएको छ ।

‘केहीले फरक दृष्टिकोण’ राखेको जनाउँदै उहाँले पार्टीलाई अझ सशक्त र एकताबद्ध ढङ्गले अगाडि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको बताएका छन्।

ओली निकट मानिने एमाले सचिव पद्मा अर्याल पुनर्गठन वा समीक्षा सबैको हुने बताउँनुहुन्छ । त्यस क्रममा केन्द्रको पदाधिकारी मुख्य जिम्मेवार हुने उहाँको भनाइ छ।

“समीक्षा हुँदा हामी सबैको हुन्छ, असफलताको जिम्मा लिनुपर्दा हामी सबैले लिनुपर्छ’ उहाँले भन्नुभयो,”सबैभन्दा पहिला हामी पदाधिकारीहरूले जिम्मेवारी लिनुपर्‍यो, एक दुई जनाले लिने अरूले नलिने भन्ने हुँदैन।”

निस्तेज पार्ने निर्णायक प्रयास

कार्यदलले वाग्मती प्रदेश स्तरीय छलफल गरेसँगै अध्यक्ष ओलीले नेता(कार्यकर्ताहरू समक्ष व्यक्त गरेको धारणाले एमालेभित्र अब ध्रुवीकरण तीव्र र खुला हुने सङ्केत दिएको विश्लेषण हुन थालेको छ।

एमाले नेता कर्णबहादुर थापाका अनुसार निश्चित कमिटीमा मात्र छलफल नगरी अलि फराकिलो ढङ्गले सोच्ने भनेर कार्यदल बनाइएको हो। जसको अन्तर्य पार्टी पुनर्गठन हो र त्यसमा नेतृत्व परिवर्तन अनिवार्य रूपमा पर्छ।

ूबिचार, विधि, विश्लेषण, शैली सबैमा पुनर्गठन हुन्छ, जुन कुरा उहाँहरूले रोक्न चाहनुहुन्थ्योू थापा भन्नुहुन्छ, ूतर अझै पनि उहाँले म छोड्दिन भन्नुको अर्थ, अध्यक्षको सान्दर्भिकता समाप्त भएको हो।ू

ओली निकास दिने ठाउँमा रहेको उल्लेख गर्दै थापा ूजे गरे गरू भनेर उम्किन नमिल्ने बताउँनुहुन्छ ।

“प्रक्रिया र विधिको कुरा गर्दा या विशेष महाधिवेशन गर्नुपर्‍यो वा उहाँले छोड्नु पर्‍यो”, आशावादी रहेको सुनाउँदै उहाँले विकल्प पनि देखाउनुभयो ।

“वातावरण बन्दै गयो भने सायद उहाँले सोच्नु होला, सोच्नु भएन भने अरूले सोच्नु पर्छ।”

तर एमालेको पुनर्गठन भन्ने बित्तिकै नेतृत्व रहन्छ कि रहँदैन भन्ने बहसले वस्तुनिष्ठ समीक्षालाई दखल पुर्‍याउने बताउनुहुन्छ, एमाले सचिव अर्याल।

“हाम्रो नीति, विधि, सिद्धान्त र सङ्गठनसँग जोडिएका विषयमा पुनर्विचार गर्नुपर्नेछ कि छैन भन्ने पनि समीक्षा हो”, उहाँले बताउनुभयो।

वाग्मती प्रदेशबाट सुरु भएको त्यो समीक्षा र पुनर्गठनको सुझाव सङ्कलनको क्रम असार १९ गतेसम्म चल्ने तालिका निर्धारण गरिएको छ।

कार्यदलसँगको छलफल अघि र पछि ओलीले वाग्मतीका आफू निकटस्थहरूको धारणा बुझेको र पार्टी विभाजनको सम्भावना व्यक्त गरेको भन्ने खबरलाई उहाँ प्रतिरक्षाको निर्णायक चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ।

“उहाँमा व्यक्ति केन्द्रित भावना बढी देखिन्छ”, नेता कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, “आफ्नो प्रतिरक्षाको निम्ति उहाँ जे गर्न पनि तयार, तर अब त्यो आडम्बर र अहङ्कारले चल्दैन। नेता, कार्यकर्ता र शुभचिन्तकले चल्न पनि दिइँदैनन्। पार्टीलाई एक राख्दै सम्मानजनक रूपमा उहाँलाई बहिर्गमनको बाटो दिने हो।ू

Share Now