Prakash Adhikari June 17, 2026

 

  • सञ्जय ढकाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, ३ आषाढ । “जति सजिलोसँग अन्लाइनबाट मानिसहरू ठगिन्छन्, त्यति सजिलै उनीहरूले आफ्नो रकम फिर्ता पाउँदैनन्।” यो भनाइ नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ अधिकारीहरूको हो।

साइबर सुरक्षाविज्ञहरूले पनि यस्ता ठगीबाट जोगिनु नै सबभन्दा उत्तम उपाय भएको बताउँदै आएका छन्।

केही सातायता विश्वकप फुटबलका खेलहरू सित्तैमा हेर्न पाइने भन्दै पठाइएका अन्लाइन लिङ्कहरूका कारण बढिरहेको ठगी साइबर ब्यूरोको ठूलो टाउको दुखाइ बनेको छ।

दिनैपिच्छे कहिले प्रहरी त कहिले ब्याङ्क वा वित्तीय संस्थाहरूका तर्फबाट यस्ता ठगीबाट जोगिन सार्वजनिक अपील हुँदै आए पनि यो क्रम रोकिनुको साटो बढिरहेको देखिन्छ।

गुमिसक्यो २.२९ करोड रुपैयाँ

विश्वकप फुटबल प्रतियोगिता सुरु हुने दिन जुन ११ मा बीबीसीले साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलिप गिरीलाई सोध्दा यस्तो फन्दामा परेर उजुरी गर्नेहरूको सङ्ख्या ७७ थियो भने ठगी भएको रकम १ करोड ६८ लाख रुपैयाँजति थियो।

प्रतियोगिता सुरु भएको पाँच दिन नबित्दै उजुरी गर्नेहरूको सङ्ख्या १ सय १५ अनि ठगी भएको रकमको परिमाण २ करोड २९ लाख रुपैयाँ नाघिसकेको प्रहरीले जनाएको छ। यो सङ्ख्याले उजुरी परेका घटनाको मात्र प्रतिनिधित्व गर्छ। ठगिएका व्यक्ति र उनीहरूले गुमाएको रकम त्यो भन्दा बढी हुन पनि सक्छ।

“एकदम लापरवाही र थोरै लोभका कारण यो क्रम नरोकिएको हुन सक्छ। निःशुल्क भनेपछि त्यसको परिणाम के हुन सक्छ भनेर नसोच्ने गरेको देखियो”, ब्यूरोका प्रवक्ता गिरीले मङ्गलवार बीबीसीलाई बताउनुभयो।

प्रहरीका साथै सञ्चारमाध्यम अनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले बारम्बार सजग गराइरहे तापनि केही जानेबुझेका मानिसहरूलाई समेत नसोधीकन फुटबल हेर्न चाहनेहरू ठगहरूको पासोमा परिरहेका छन्।

ठगहरूले कसरी उछिट्ट्याउँछन् रकम

अन्लाइन मञ्चमा खास गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई तिनै माध्यममा फुटबल निःशुल्क हेर्न “यो लिङ्क थिच्नुहोस्” भन्दै सन्देश पठाइने गरेको पाइन्छ।

त्यस्ता लिङ्कमा थिचेपश्चात् तिनले कुनै ‘एपीके’ भनिने फाइल डाउनलोड गर्न लगाउने र त्यसका निम्ति विभिन्न सर्त मान्नुहोस् भन्दै क्लिक गर्न लगाउने गरेको पाइन्छ।

त्यसो गर्दा ती ह्याकरहरूले निज प्रयोगकर्ताको ब्याङ्कका एपमा पहुँच पुर्‍याउने र खातामा भएका सम्पूर्ण रकम उछिट्ट्याउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

यसपालि फिफा विश्वकप फुटबल प्रतियोगिताका खेलहरू हेर्न टेलिभिजनको हकमा ९ सय ९९ रुपैयाँ तथा मोबाइलको हकमा ५सय ४९ रुपैयाँ तोकिएको छ।

“सामाजिक सञ्जालका विज्ञापन तथा अनलाइनका विभिन्न माध्यममा विश्वकप २०२६ हेर्न सकिने भनी एन्ड्रोइड इन्सटलर (एपीके) इन्स्टल गर्न लगाई विभिन्न अनुमति माग्ने र लिने अनि मोबाइल ब्याङ्किङ एप ह्याक गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित प्रयोगकर्ताहरूलाई अनुरोध गरिन्छ”, सोमवार साइबर ब्यूरोले जारी गरेको सूचनामा उल्लेख छ।

उसले यस्ता ठगीबाट बच्न अनावश्यक एपहरू इन्स्टल नगर्नस ब्याङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना लिएर ब्याङ्किङ सिस्टम अद्यावधिक गर्न तथा ब्यूरोले गरेका अनुरोधहरू पालना गर्न सचेत गराएको छ।

साइबर सुरक्षाका जानकार विजय लिम्बू स्क्याम र ह्याकमा निरन्तर मानिसहरू फसिरहनुमा दुई थरीको दोष देख्नुहुन्छ ।

“पहिलो त मानिसहरूकै कमजोरी छ। लगातार सचेतना भइरहँदा पनि किन मानिसहरू फस्न पुग्छन् भन्ने ठूलो प्रश्न छ। अर्को चाहिँ सरकारको तदारुकतामा कमी छ। केवल प्रहरीले मात्र यो नियन्त्रण गर्न सक्दैन। राष्ट्रिय स्तरमा नै यसको सम्बोधन हुनुपर्छ”, लिम्बूले भन्नुभयो ।

विश्वकप फुटबलका बेला बढ्ने ठगीलाई उहाँले डेङ्गीजस्ता प्रकोपसँग तुलना गर्नुभयो। “कुनै विशेष किसिमका घटना हुँदै छन् भने मौसमी प्रकारले यस्ता ठगीका घटना बढ्छन् नै। त्यसको निम्ति बेलैमा सजगता अपनाउन सरकारले काम गर्नुपर्छ।”

गुमेको रकम फिर्ता पाउन किन कठिन

नेपालमा वर्षैपिच्छे करोडौँ रुपैयाँ विभिन्न किसिमका अनलाइन ठगी, स्क्याम तथा ह्याक भएर नोक्सानी हुने गरेको जानकारहरू बताउँछन्।

यो वर्ष लगभग ६ हजार ४ सय वटा त्यस्ता उजुरी परेको साइबर ब्यूरोका प्रवक्ता गिरीले बताउनुभयो। तर उहाँका अनुसार तिनको समाधान वा ठगिएको रकम फिर्ता हुने प्रक्रिया भने जटिल छ।

“यसरी ठगी भएको रकम फिर्ता त हुन सक्छ तर प्रक्रिया सहज छैन”, गिरीले बताउनुभयो, “ह्याकरले पैसा ठग्नका निम्ति केवल पीडितको ब्याङ्क खातामा पहुँच पुर्‍याए पुग्छ। तर पैसा फिर्ता ल्याउने प्रक्रियामा धेरै संस्थाहरू जोडिन्छन्।”

“साइबर ब्यूरो जोडिने भयो, विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरू जोडिन्छन्, पैसा थुतेर लगिएका खाताका खातावाल कतिपय नक्कली हुन्छन्- एकथरीको नाममा खाता हुन्छ अरूले नै सञ्चालन गरेका हुन्छन् – जसले गर्दा एकदम समय लाग्छ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र ब्याङ्क के भन्छ?

अन्लाइन ठगीमार्फत् हुने वित्तीय अपराधको सम्बोधन गर्न केन्द्रीय ब्याङ्कले पनि विभिन्न कदम चालेको नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका छन्।

“कसैको ह्याक भएको छ भने अचेल हामीले मौखिक जानकारीकै आधारमा पनि ४८ घण्टासम्म सम्बन्धित खाता रोक्का गरिदिने गरेका छौँ। त्योभन्दा लामो समय रोक्का गर्न चाहिँ कानुनले लिखित नै निवेदन माग्छ”, राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले भन्नुभयो।

“डिजिटल ह्याक गरिएका मामिलामा डिजिटल रूपमै रोक्का गराउन अलि द्रुत प्रक्रिया अपनाइने गरेको छ”, पौडेलले भन्नुभयो ।

ह्याकरहरूले पीडितहरूको ब्याङ्कको खाताबाट पैसा थुतेपछि एकबाट अर्को गर्दै दर्जनौँ अन्य खातामा रकमलाई टुक्र्याएर सार्ने गरेको पाइन्छ। त्यसलाई ुलेयरिङु भनिन्छ। त्यसो गर्दा रकम फिर्ता ल्याउने काम झन् जटिल हुन पुग्छ।

जानकारहरूले प्रहरी, ब्याङ्क वित्तीय संस्थासहितका प्रतिनिधि रहेको द्रुत प्रतिक्रिया तथा कारबाही गर्न सक्ने विशेष कार्यदल गठन गरिए यस्ता समस्यालाई समयमै सम्बोधन गर्न सहज हुने सुझाव दिएका छन्।

ती सबैभन्दा महत्त्वपूर्ण चाहिँ मानिसहरू आफैँ सचेत हुन सके समस्याको निराकरण हुने उनीहरूले बताएका छन्।

Share Now