काठमाडौं, १३ कार्तिक। शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले आगामी २१ देखि २३ मंसिरसम्म हुने १५औं महाधिवेशन खुलामञ्चमा गर्ने निर्णय गरेको छ।
देउवा कांग्रेसले कार्यक्रम सञ्चालनका लागि काठमाडौंमा विभिन्न स्थानहरू बुक गरिसकेको छ।
देउवा कांग्रेसद्वारा गठित केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ।
निर्धारित कार्ययोजना अनुसार महाधिवेशनको भव्य उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमै सम्पन्न गरिनेछ भने पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था मिलाइएको छ।
यसैगरी, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको खानपान सहज बनाउन भृकुटीमण्डपको परिसर बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिनुभएको छ।
निर्वाचन समितिको कार्यतालिका अनुसार यस समूहले गत १५ असोजबाटै वडा अधिवेशनको प्रक्रिया सुरु गरिसकेको छ भने १५ कात्तिकभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति तोकिएको छ।







