वीपीनगर, सानेपा (ललितपुर), १६ कार्तिक । नेपाली कांग्रेसले विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ, इद लगायतका चाँडपर्वहरुको अवसर पारेर शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले वीपी कोइरालाले प्रतिपादित गर्नुभएको राष्टिय एकता र मेलमिलापको नीति अझै सान्दर्भिक रहेको भन्दै प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन र आर्थिक समृद्धि हासिल गर्न राजनीतिक दलहरुबीच आपसी मेलमिलाप र सहकार्यको विकल्प नभएको बताएका छन् ।
चियापानका सहभागी बन्न पुग्नुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा पनि कांग्रेस-कम्युनिस्ट मिल्दै आएको र अब पनि मिलेरै आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुले मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको उल्लेख गर्नुभयो।उहाँले सबैलाई ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट अपिल पनि गर्नुभयो ।
चियापानमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पनि पुग्नुभएको थियो । त्यसरी नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा, महामन्त्री दीपक बोहोरा, राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनी पनि चियापानमा पुग्नुभएको थियो ।
चियापानमा आउनुभएका सहभागीहरुलाई मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला,कोषाध्यक्ष सितादेवी यादव, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महतलगायतले स्वागत गर्नुभएको थियो भने लामबद्ध भएर आएका सहभागीहरुलाई केन्द्रीय सदस्य र भातृृसंगठनका सभापति एवम् पदाधिकारीहरुले कार्यालयको गेटदेखि नै स्वागत गर्नुभएको थियो ।
चियापान समारोहको आयोजनाको औचित्यमा प्रकाश पार्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपीको मेलमिलापको नीति नै देश अगाडि बढिरहेको दावी गर्नुभयो । उहाँले अहिले पनि देशमा मेलमिलापको आवश्यकता भएकोले राजनीतिक दलहरु आपसमा टकराव नगरिकन मिलेरै जानुपर्ने बताउनुभयो ।
समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार निकै अनुकुल अवस्थामा रहेको भन्दै नेकपाले समयको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।उहाँले स्थिर सरकार बनेको बेला राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारतिर जानसक्ने जोखिम औल्याउदै कम्युनिष्ट पार्टीको सरकारलाई समयको सदुपयोग गरेर जनताको आकांक्षा पूरा गर्ने सफलता मिलोस् भन्ने शुभकामना पनि दिनुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले निर्वाचनपछि राजनीतिक मैदानमा उपस्थिति देख्न नपाइएको कांग्रेसलाई सानेपामा भेट्न पाउदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी कार्यकर्तामा अदम्य उत्साह र जाँगर देखिएपनि नेतृत्व तहमा पार्टीभित्रै भावनात्मक एकता कायम गर्न निकै कठिनाई देखिएको बताउनुभयो । उहाँले आगामी महाधिवेशनले कार्यकर्तालाई एकताको सूत्रमा बाँध्ने आशा व्यक्त गर्नुभयो ।
कांग्रेसको चियापानमा सहभागी हुन पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा सबै राजनीतिक दलका प्रतिनिधिहरु एकापसमा भेटघाट भएर एकर्काको उन्नति र प्रगतिको शुभकामना दिनु सकारात्मक संस्कृति भएको बताउनुभयो । श्रेष्ठले विभिन्न पार्टीका नेताहरुबीचको समन्वय र सद्भावले नै देशको विकास तीव्र पादै देशलाई आर्थिक क्रान्ति र समृद्धिको युगमा प्रवेश गराउन मद्दत पुग्ने बताउनुभयो ।
चियापानमा भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका विभिन्न देश र नेपाल अवस्थित विभिन्न बहुराष्टिय कुटनीतिक नियोगका अधिकारी पनि चियापानमा पुग्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका उपकूलपति एवम् प्राध्यापकहरु,विभिन्न पेशागत संगठनका प्रतिनिधिहरु, उद्योगपति र व्यापारीहरु, राष्टसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु,अवकाशप्राप्त राष्टसेवकहरु नेपाली कांग्रेसका कार्यकर्ताहरु,को पनि बाक्लो उपस्थिति रहेको थियो ।
२०३३ सालमा बी।पी। कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान(प्रदान गर्ने परम्परा कायम राख्दै आएको छ ।
कांग्रेसले उपत्यकाबाहिरका सबै जिल्लामा पनि शुक्रबार नै चियापान कार्यक्रम गरेको राखेोको थियो । सर्लाहीमा भने पार्टीका कार्यकर्ता रामविलास महतोउपर गोली हानी हत्या गरिएको कारण चियापान कार्यक्रम नराखिएको बताइएको छ ।
























