काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारस्थित सरकारी निवासमा फर्कनुभएको छ।
छातीमा संक्रमण देखिएपछि उहाँलाई सोमबार बिहान ४ः ३० बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर थोरासिस एण्ड टान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उहाँलाई पाँच दिन चिकित्सकीय निगरानीमा विशेष उपचार गरे शुक्रबार साँझ डिस्चार्ज गरिएको हो।
प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको थियो।
प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउने निर्णय शुक्रबार साँझ गरेका हुन्।
प्रधानमन्त्रीलाई एक सातापछि फलोअपमा आउने गरी डिस्चार्ज गरिएको छ।
अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीहात हलाउँदै सरकारी निवासतिर लाग्नुभएको थियो। खराब स्वास्थ्यकै कारण उहाँ नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सक्नुभएको थिएन।
अस्पताल भर्नापूर्व उहाँ सरकारी निवास बालुवाटरमै आराम गरिरहनुभएको थियो।


















