काठमाडौं, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तरगत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खर भएको टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको छ।
पछिल्लो खेलमा रहेको टोलीमा लुम्बिनीले परिवर्तन गरेको छैन भने सुदूरपश्चिममा ३ खेलाडी परिवर्तन गरिएको छ।
यो खेलको विजेता सोझै फाइनल पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को एउटा मौका पाउनेछ। त्यसका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ । काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम जारी सिजनका सबैभन्दा बलिया टोली हुन्। लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम अघिल्ला दुवै संस्करणको फाइनलमा पुगेको थियो।
तर, लुम्बिनीसँगका पछिल्ला दुई भेट सुदूरपश्चिमका लागि बिर्सनलायक छन्। एनपीएलमा आफ्नो बलियो छवि बनाएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पछिल्ला दुई खेलमा निकै कमजोर प्रदर्शन गरेको छ।
यी दुई टोलीबीच आज पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका चार भेटमा दुवै टोलीले समान दुई खेल जितेका छन्।
पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले सात विकेटको जित निकालेको थियो। तर, त्यसको जवाफ लुम्बिनीले फाइनलमा फर्काएको थियो। फाइनलमा सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनीले ६ विकेटको जित निकालेको थियो।
जारी सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो।
यसरी पछिल्ला दुई भेटमा सुदूरपश्चिमले लुम्बिनीविरुद्ध लगातार ठूलो अन्तरको हार बेहोरेको छ। त्यसैले आजको खेल सुदूरपश्चिमका लागि अघिल्ला हारको बदला लिने अवसर हुनेछ भने लुम्बिनी लगातार तेस्रो जितसहित फाइनल पुग्ने लक्ष्यमा हुनेछ।
सिजन ३ को प्रदर्शन
लुम्बिनी र सुदूरपश्चिम दुबै लिग चरणमा ५ जित दर्ता गरे । लुम्बिनीले काठमाडौंसँगको खेल हार्यो भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो।
सुदूरपश्चिम पनि लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भएर पनि अंकतालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।






