पोखरा(कास्की), २० कार्तिक । यही कार्तिक ९ गतेदेखि पोखरामा चलिरहेको पोखरा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको आज हुने फाइनल खेलमा नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोज र र शरद भेसावाकरको कप्तानीमा बनेको पोखरा पल्टन उपाधिका लागि भिड्दैछन्।
राउण्ड रोबिन लिगको समाप्तिमा अङ्कतालिकाको शीर्ष स्थानमा रहँदै शरद्को पोखरा पल्टन फ़ाइनलमा प्रबेश गरेको हो भने एलिमिनेटर खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा बनेको काठमान्डौ रोयल्सलाई पराजित गर्दै पारस खड्का नेतृत्वको चितवन राइनोजले फाइनलको यात्रा तय गरेको हो ।
समूह चरणको प्रदर्शनमा शरद भेसवाकरको कप्तानीमा बनेको पोखरा पल्टनले प्रतियोगिताको उद्घाटन खेलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको बिराटनगर टाईटन्सलाई ५८ रनले पराजित गरेर खेलमा विजयी सुरुआत गरेको थियो ।
पल्टनले दोस्रो खेलमा सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टर्सको सामना गर्यो । तर ब्याटिंग नचल्दा पोखरा पल्टन ३३ रनको हार ब्यहोर्न बाध्य भयो ।
पल्टनले तेस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको थियो । चौथो खेलमा पोखरा २ विकेटले पराजित भयो।
चारवटा खेलसम्म आलोपालो जीत र हारको उतार चढाव ब्यहोरेको पोखरालाई राउण्ड रोबिन लिग अन्तर्गत दोस्रोे चरणमा पुग्नको लागि पाँचौ खेल जित्न अनिवार्य थियो । सो निर्णयक खेलमा उसले ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाण्डौ रोयल्सलाई ४ विकेटले पराजित गर्यो । पाँचौ राउण्डका खेलहरु सकिदा पोखरा, काठमाण्डौ र चितवनको समान ६ अंक भएको थियो। तर उत्कृष्ट नेट रनरेटका आधारमा पोखराले फाईनलमा स्थान बनाएको हो।
यता चितवन राइनोजको यात्रा भने खेलमा प्रयोग हुने सुस्त र निरन्तरको प्रयासले जित हात पार्ने शैलीको रह्यो । राष्टिय टीमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजलाई सुरुआतमा भाग्यले साथ दिएको थिएन । पहिलो खेलमा राइनोज सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भयो । दोस्रो खेलमा शरद् भेषवाकरको नेतृत्वमा रहेको पोखरा पल्टनलाई पनि विजय गर्न सकेन र ५ विकेटले पराजित भयो।
तेस्रो खेलमा राइनोजले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको धनगढी ब्लुजलाई १सय २६ रनले पराजित गर्यो । चौथो खेलमा पारस खड्काको चितवन राइनोजले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ्रकाठमाण्डौ रोयल्सलाई १३ रनले पराजित गर्यो । समूहको अन्तिम र निर्णायक खेलमा बिराटनगर टाईटन्सलाई ४ विकेटले पराजित गरेपछि राइनोजले एलिमिनेटरमा स्थान सुरक्षित गर्यो।
पारस र शरद्को भिडन्तको इतिहास
पोखरा प्रिमियर लिगको यस संस्करणको समूह चरणमा भएको भिडन्तमा पोखरा पल्टनले ५ विकेटले बाजी मारेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको चितवन राइनोजले पारस खड्काको ४४ रन तथा सन्नी पटेलको अविजित ४६ रनको मद्दतमा १४० रनको योगफल तयार पारेको थियो। पोखराका लागि बिक्रम भुसालले सर्बाधिक २ विकेट हात पारेका थिए।
जवाफमा रवि इन्दर सिंहले ६५ रन र कप्तान शरद भेसावकरले आक्रामक ३७ रनको पारि खेलेपछि पोखराले १६ बल अगावै लक्ष्य पूरा गरेको थियो।
पारस खड्का र शरद भेसावकर बिचको टिम नेपालको घरेलु टि(२० प्रतियोगिताको फ़ाइनलमा भिड्न लागेको यो तेस्रो पटक हो। यसअघि सन् २०१७ को एभरेस्ट प्रिमियर लिगमा पारस खड्काको बिराटनगर वारियर्सले शरद भेसवाकरको भैरहवा ग्लाडीएटर्सलाई १ रनले पराजित गरेको थियो।
यस्तै धनगढी प्रिमियर लिगको पहिलो संस्करणमा पारस खड्काको टिम चौराहा धनगढीले शरद भेसवाकरको बिराटनगर किंग्सलाई पराजित गरेको थियो।


















