वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),२१ कार्तिक । अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको छ।
त्यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ।

गत आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ।
मङ्गलवारको संसदीय चुनावलाई ट्रम्प शासनमाथिको एउटा जनमत सङ्ग्रहका रूपमा हेरिएको छ।
फाइदा
हुन त सन् २०२० सम्म उनी पुनर्निर्वाचित हुनुपर्ने अवस्था होइन।
डेमोक्र्याटहरूले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको बताइएको छ।
पूर्ण मत परिणाम आउन बाँकी नै भए पनि हाउसमा डेमोक्र्याटिक पार्टीको बहुमत आउने पक्का भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
यो चुनावअघि ४४५ सदस्य रहेको हाउसमा रिपब्लिकन पार्टीको २३४ सिट थियो। डेमोक्र्याटिक पार्टीको २०१ सिट मात्र थियो। अहिलेसम्मको मतपरिणाममा डेमोक्र्याटहरुले नयाँ २४ सिट जितेका छन्। रिपब्लिकनले २४ सिट गुमाएका छन्। डेमोक्र्याटिक पार्टीले रिपब्ललिकनबाट ४० देखि ५० सिटसम्म छिन्न सक्ने देखिएको सञ्चार माध्यमले जनाएका छन्।

योसँगै डेमोक्र्याटहरूले अब ट्रम्पका योजनालाई अझ प्रभावकारी ढङ्गले रोक्न सक्नेछन्।
मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने उनको योजनालाई पनि उनीहरूले तुहाउन सक्छन्।
जोखिम
डेमोक्र्याटिक पार्टीको तर्फबाट पहिलो पटक दुईजना मुस्लिम महिला कंग्रेसमा प्रतिनिधित्व गर्ने भएका छन्।
यसपटक कीर्तिमानी सङ्ख्यामा महिला उम्मेदवार उठेका छन्।
प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो।
यसअघि प्रतिनिधिसभा विपक्षीहरूको नियन्त्रणमा गए तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने जिज्ञासामा राष्ट्रपति ट्रम्पले त्यो जोखिमपूर्ण हुने बताएका थिए।
सोमवार पत्रकारहरूलाई उनले भनेका थिए, “त्यस्तो अवस्थामा हामीहरूले अलि फरक ढङ्गले काम गर्नुपर्ने हुन सक्छ।”
बीबीसीबाट


















