काठमाडौं, २ मंसिर । मूल्य समायोजनसम्बन्धी विवाद निरुपणको लागि नेपाल स्टक एक्सचेन्जले एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।
सेयर बजारसँग सम्बन्धित लगानीकर्ता संघका पदाधिकारीहरुको प्रतिनिधि मण्डलले नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदसहितका अधिकारीहरुलाई भेट गरी एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार रोक्का गर्न माग गरेपछि नेप्सेले कारोबार रोकेको हो ।
नेप्सेले एभरेष्टले जारी गर्न लागेको १०५ प्रतिशत हकप्रद सेयरमा बुधबार मूल्य समायोजन गरेको थियो । तर संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्नु नहुने लगानीकर्ताहरुले माग उठाएपछि नेप्सेले अर्को निर्णय नभएसम्म एभरेष्ट इन्स्योरेन्सको कारोबार रोकेको छ ।
नेप्सेले यस सन्दर्भमा नियामक निकाय धितोपत्र बोर्डसँग पनि छलफल गरी मूल्य समायोजनको विषयमा निर्णय लिइने जनाएको छ । मूल्य समायोजनपछि भएका कारोबारलाई के गर्ने भन्ने पनि छलफलपछि टुंगो लाग्नेछ । मूल्य समायोजनपछि अहिलेसम्म ३५० कित्ता मात्र सेयर कारोबार भएको छ ।


















