बैंकक(थाइल्याण्ड) पुस । थाइल्याण्डमा जारी एसीसी यु -१६ इस्टर्न प्रतियोगिताको सेमीफाइनलमा नेपालले मलेसियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
टेर्ड थाई मैदान थाईल्याण्डमा भएको दोश्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले प्रतिश जिसीको २५ रनको मद्दतमा ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । प्रतिशले २२ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै सुनिल भण्डारी र नारायण जोशीले समान १७ रन बनाउदा बिकासबिक्रम केसीले १५ रन जुटाउन भ्याए । तृतराज दासले १३ रन, ऋत गौतम र राजन मगरले ११ रन, निखिल कुमार सिंह र कुशल मल्लले समान ६ रन तथा सूर्य तामांगले १ रन जोडे ।
बर्षाको कारणले ३५ ओभरबाट ३४ ओभरमा झारिएको खेलमा टस जितेको फाइदा उठाउदै मलेसियाले नेपाली ब्याट्सम्यानहरुलाई दबाबमा राखेको थियो । मलेसियाका मोहम्मद अफिकले सर्बाधिक ३ विकेट हात पार्न ४ ओभरमा १९ रन खर्चिए भने असलम खानले २ विकेट लिए।
आजको खेलमा नेपालका बलरहरुले उत्कृस्ट प्रदर्शन गरेका थिए । नेपालका सुर्य तामांगले ४ विकेट लिन ७ ओभरमा १२ रन खर्चिदा प्रतिश जिसीले ३ विकेट लिन ६ ओभरमा २३ खर्चे ।
मलेसियाका लागि ओपनर संदेश सुप्पारमानियमले सर्बाधिक १६ रन बनाउदा दोश्रो सर्बाधिक स्कोर अतिरिक्त पाएको १३ रन रह्यो । अन्य ब्याट्सम्यानको प्रदर्शन एकदमै कमजोर रह्यो जसमा दूई जनाले ८र ८ रन बनाउदा दुई जना डक आउट भए भने तीन जनाले १ र१ रन मात्र बनाउन सके ।
मलेसियाले ५५ रन बनाउदा सबै विकेट गुमायो र खेल ७२ रनको फराकिलो अन्तरले नेपालसंग पराजित हुन पुग्यो ।
नेपालले प्रतियोगिताको फाइनल खेलमा सिंगापुरको सामना गर्नेछ । सिंगापुरले शनिवारै भएको पहिलो सेमिफाइनलमा हंगकंगलाई ८ विकेटले पराजित गरेको थियो ।