Prakash Adhikari December 17, 2017

काठमाडौं, २ पौष । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नरम भाषामा चर्को चेतावनी दिनुभएको छ ।

आइतबार अपरान्ह काठमाडौंको होटल अन्नपूर्णमा आयोजित नेकपा एमाले रमाओवादी केन्द्रको संयुक्त पत्रकार सम्मेलनमा उहाँले निर्वाचनको परिणाम आइसकेको हुनाले राजिनामा गरेर नयाँ सरकार गठन गर्ने मार्ग प्रशस्त गर्न सुझाव दिदै भन्नुभयो, ‘परिस्थिति परिपक्व भएपछि हामीहरु दुवै(प्रचण्डलाई संकेत गर्दै) जनाले राजिनामा दिएर सत्ता छोडेका हौ, उहाँले कसरी सत्ता छोड्नुभएको छ, थाहै होला ।’

विगतमा तात्कालिन राष्ट्र प्रमुख राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘कू’ मार्फत दुईपटक सत्ताबाट हटाईएको थियो ।

उहाँले सरकार गठनको कार्य नितान्त प्रतिनिधि सभाको अधिकार भित्र रहेको उल्लेख गर्दै भन्नुभयो, ‘सरकार गठन गर्ने र परिवर्तन गर्ने इन्डिपेन्डेन्ट निकाय प्रतिनिधि सभा हो ।संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी प्रष्ट व्यवस्था छ। प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। त्यहाँ राष्ट्रिय सभाको विषय कसरी आयो ? राष्ट्रिय सभा र प्रदेशसभाको विषय देखाएर निहुँ खोज्ने ?’

बाम गठबन्धनबाट भावि प्रधानमन्त्रीको रुपमा अगाडि सारिने अनुमान गरिनुभएका एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा, प्रदेशसभा वा इलेक्ट्रोरल कलेज वा अरु विषयसँग यसको सम्बन्ध नरहेको बताउनुभयो ।उहाँले प्रधानमन्त्री देउवालाई अनैतिक ब्यवहार नदेखाउन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सविधानले निर्धारण गरेको समय सीमाभित्रै चुनाव गराएर राम्रो प्रधानमन्त्री देउवाले राम्रो काम गरेको उल्लेख गर्दै एक दुई नियुक्तिको लोभमा नपर्न सुझाव दिनुभयो ।

सरकारका तर्फबाट भने प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था नभएको र प्रतिनिधि सभाले प्रधानमन्त्री निर्वाचन गर्नुपर्ने अवस्थामा संसदको संयुक्त बैठक राष्ट्रपतिले आह्वान गर्नुपर्ने त्यसका लागि राष्ट्रिय सभा गठन गर्न कानूनको अभाव भएको बताउदै सो सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने तर्क सारिएको छ ।

उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिले ढिलाइ गरेको सरकारको आरोप छ। उता एमाले अध्यक्ष ओलीले राष्ट्रपतिले उक्त अध्यादेश जारी गर्न नहुने बताउदै भन्नुभएको छ, ‘राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा सरकारले जथाभावी व्यवस्था परिवर्तन गरेको छ, अध्यादेशको नाममा जे पायो त्यही लगेर हुन्छ ? राष्ट्रपतिले जारी गर्नुहुन्नु ।’

उहाँले प्रधानमन्त्रीले असंवैधानिक काम गर्न राष्ट्रपतिलाई दबाब नदिनु भन्ने सन्देश पठाएकोमा त्यसको जवाफ दिदै भन्नुभयो, ‘म भन्छु प्रधानमन्त्रीको कुर्चीमा बसेर राष्ट्रपतिलाई काम गर्न दबाब दिनु हुँदैन। संविधानको रक्षकको हिसाबले राष्ट्रपतिले त्यसो गर्नुहुँदैन।’

उहाँले सरकारले खेल भइरहेका बेला नियम फेर्न लागेको भन्दै त्यसो गर्न नमिल्ने बताउनुभयो ।

सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा सदस्यहरुको चयन एकल संक्रमणीय पद्धतिमा गर्ने व्यवस्था राखेको छ र बाम गठबन्धन बहुमतीय प्रणालीबाट राष्ट्रिय सभाको चुनाव गर्ने पक्षमा रहेको छ । सरकारले संसद अधिवेशन सकिने वित्तिकै उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ पठाएको थियो । बाम गठबन्धनको दबाव र राष्ट्रपतिको उनीहरुसंगको पूर्व निकटताको कारण सो अध्यादेश जारी हुन विलम्ब भैरहेको छ ।

भारतसंग मधुर सम्बन्ध रहने

पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय सम्बन्धका बारेमा सोधिएको प्रश्नमा एमाले अध्यक्ष ओलीले भारतको औपचारिक धारणा सार्वजनिक भैसकेको र नयाँ बन्ने सरकारसंग काम गर्न आतुर भएको सन्देश आएको बताउदै यस विषयमा अनावश्यक भ्रम नफैलाउन सञ्चारकर्मीसंग आग्रह गर्नुभएको थियो ।
उहाँले भारतले अहिलेको जनादेशलाई कदर गर्ने बताउदै यसले स्थायित्व दिने दिने विश्वास सहित नयाँ सरकारसँग मिलेर काम गर्न आतुर छौं भनेको बताउनुभयो । उहाँले बामपन्थीको सरकार बने पूँजी पलायन हुने हल्ला निराधार भएको बताउदै नयाँ सरकार बनेको तीन महिनामा धेरै कुरा जनताले अनुभूति गर्ने ढंगले काम हुने दावी पनि गर्नुभयो ।

Share Now

Leave a comment.