बैंकक(थाइल्याण्ड), २ पौष । नेपाल थाइल्याण्डमा सम्पन्न एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
आइतबार बैककको टेर्ड मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै सो उपाधी हात पारेको हो ।
टस जित्दै पहिले ब्याटिङ्ग रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ६३ रन बनाएका थिए भने नारायण जोशीले ४६ रन बनाए ।
सिंगापुर चाहिं १ सय १२ रनमा अलआउट हुन पुगेको थियो ।
नेपालका लागि अजय कुमार लोनिया र सुर्य तामाङले सर्वाधिक ३–३ विकेट तथा नारायण जोशी र कुशल मल्लले १–१ विकेट लिएर सिंगापुरको बलिड.लाई धराशायी बनाएका थिए ।
नेपालले समूह चरणमा आयोजक थाइल्याण्ड, हंगकंग र म्यानमारलाई पराजित गरेको थियो भने सेमिफाइनलमा मलेसियालाई पराजित गरी उपाधी हासिल गरेको हो ।