काठमाडौं,२ पौष ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मत गणना सकिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मतगणना सकिएकोले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ ।
प्राप्त मत परिणाममा प्रतिनिधिसभाको समानुपातिक तर्फको मतमा नेपाली कांग्रेस एमालेभन्दा ४६ हजार २ सय २७ मतले पछाडि छ । कांग्रेसले ३१ लाख २४ हजार ७ सय ९० मत पाएको छ भने नेकपा एमालेले ३१ लाख ७१ हजार १७ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) ले १३ लाख २ हजार ३ सय ४७ मत हासिल गरेको छ।
थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २३९ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार १६३ पाएका छन् ।
दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ सीट मध्ये एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी नेपाल, राष्टिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी , राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक(एक सिट जितेका छन् ।