काठमाडौं, ३ पौष । प्रतिनिभि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि सोमबारबाट आरम्भ एको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्ने र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकीकृट पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पद दिन नहुने प्रस्ताव आएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्ने नेताहरुले पार्टी एकता हुँदा पदको सम्मानजनक बाँडबाँडमा समेत जोड दिएका छन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकार निर्माणर पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने निश्कर्ष बैठकले निकालेको बताइन् । उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’
बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै हाल देखिएको विवाद राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको पनि उनले बताइन् ।
बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत एकताको पक्षमा रहेको भन्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । बैठकमा संक्षिप्त बोलेर प्रचण्डले एकताका विषयमा नेताहरुसँग राय मागेका थिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री पद केपी ओलीलाई दिन नहुने सुझाव दिएका थिए ।
ुनेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रम र अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुन्दैन । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ उनीहरुको जोड थियो ।
बक्ताःँहरुले पार्टी एकता र सरकार गठनलाई एकैसाथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यालय सदस्य उर्मिला अर्याल, मातृका यादव र देव गुरुङले अन्तर्घातका कारण विभिन्न निर्वाचन क्षेत्रमा पार्टी पराजित हुन पुगेको आरोप बताएका थिए । उनीहरुले छानबिन समिति बनाएर अन्तर्घात गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिए बैठकमा बिचार, संगठन र नेतृत्वको विषयमा पार्टी स्पष्ट हुनुपर्नेमा जोड दिँदै सरकार बनाइहाल्ने तर पार्टी एकताचाहिँ पछि गरिए त्यो गम्भीर गल्ती हुने विचा पनि आएको थियो ।
बैठकले एमाले र माओवादी केन्द्रबीच बनेको एकता संयोजक समितिको बैठक राखेर एकताबारेका विविध विषयमा टुंगोमा पुग्न पहल गर्ने प्रारम्भिक खाँका पनि पेश गरेको छ ।
यसैगरी राष्ट्रियसभासम्बन्धी विधेयकमा देखिएको विवादलाई हल गर्न कांग्रेससँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । राजनीतिक मुद्दा राजनीतिक
तबरबाटै हल गर्नुपर्ने भन्दै बैठकले आपसी समझदारीबाटै समाधान खोज्ने उद्देश्यले कांग्रेससँग छलफल गर्ने निश्कर्ष निर्णय गरेको हो ।
बैठकले सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।