मोन्ट्रियल (क्यानडा),३० पुस (बीबीसी) ।१८ वर्षीय साउदी किशोरी रहफ मोहम्मद अल-कुनुन आफ्नो देश फर्किन नमानेर होटलमैं बन्द अवस्थामा बसिदिएपछि सारा विश्वको ध्यान उनीतर्फ खिचिएको हो।
उनी साउदी अरेबियामा रहेको आफ्नो घर छोडेर भागेकी थिइन्। उनको ट्विटर अभियानको अनुसन्धान गरेपछि क्यानडा सरकारले उनलाई शरण दिएको हो।
साउदी अरेबियामा महिला अधिकारको विषयमा बहस चर्किँदै गर्दा क्यानडा पुगेकी अर्की युवतीले आफ्नो कथा बीबीसी विश्व सेवासँग भनेकी छन्।
२४ वर्षीय साल्वा आफ्नी १९ वर्षीय बहिनीसँग आठ महिनाअघि भागेकी थिइन्। उनीहरू क्यानडाको मोन्ट्रियल नगरमा बस्छन्।
उनको कथा उनकै शब्दमा:
भाग्ने तयारी कसरी भयो?

विमानस्थल
हामी करिब ६ वर्षअघि देखि नै भाग्ने तयारीमा थियौँ। तर हामीसँग राहदानी वा राष्ट्रिय परिचयपत्र थिएन। मलाई ती कागजात बनाउन बुवा आमाको अनुमति चाहिन्थ्यो। (साउदी महिलाहरूलाई धेरै काम गर्न आफ्ना पुरुष आफन्तको अनुमति चाहिन्छ।)
म विश्वविद्यालयमा पढ्दा मेरा अभिभावकले राष्ट्रिय परिचयपत्र बनाइदिएका थिए। त्यसैकारण म केही भाग्यमानी भएँ। दुई वर्षअघि अंग्रेजीको परीक्षाको लागि भनेर मेरो राहदानी पनि बनाइएको थियो। तर मेरो परिवारले त्यो खोसिदिए। पछि मैले फेरि त्यो हात पार्न सफल भएँ।
मैलै मेरो दाजुको घर छिर्ने साँचो चोरेर बजारमा गएर अर्को नक्कली साँचो बनाएँ। म घर बाहिर निस्कन उनीहरूको अनुमति थिएन। तर म उनीहरू सुतेको बेला भागेँ। त्यो निकै जोखिमपूर्ण काम थियो किनभने म समातिएकी भए उनीहरूले मलाई कुटपिट गर्ने थिए।
मैले नक्कली साँचो बनाएपछि मेरो र बहिनीको राहदानी अनि बुवा सुतेको बेला उहाँको फोन लिन सफल भएँ। त्यसपछि मैले गृह मन्त्रालयको वेबसाइटमा गएर उहाँको नम्बरलाई मेरो नम्बरमा बदल्न सफल भएँ। त्यसपछि मैलै उहाँको एकाउन्टमा लग इन गरेर हामीलाई देश छोड्ने अनुमति पनि लिन सफल भएँ।
देश र परिवार छाडेर भागेकी साउदी युवतीलाई शरण मिल्यो
चार दिनको सन्तापपछि साउदी युवती भन्छिन्, ‘म खुसी छु’
इस्लाम परित्याग गरेर परिवारबाट भाग्ने यी साउदी युवती को हुन्
देश छोड्ने यात्रा कसरी सुरु भयो?

हामी सबैजना सुतेको बेला रातिको समयमा घर छोड्न सफल भयौँ। त्यो एकदमै तनावपूर्ण क्षण थियो। हामीले कार चलाउन नसक्ने भएकोले एउटा ट्याक्सी बोलायौँ। भाग्यवस साउदी अरेबियाका सबैजसो ट्याक्सी चालक विदेशी हुने हुनाले हामीले एक्लै यात्रा गरेकोमा कसैले शंका गरेनन्।
त्यसपछि हामी रियादको राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गयौँ। हामीले के गर्दैछौँ भनेर यदि कसैले थाहा पाएको भए सम्भवत हामी मारिने थियौँ। म विश्वविद्यालयमा पढ्दै गर्दाको पछिल्लो वर्ष म अस्पतालमा काम गर्दथेँ। त्यतिबेला मैले केही रकम जोगाएकी थिएँ। मैँले बेरोजगारी भत्ता बापतको रकम पनि जोगाएकी थिएँ। त्यो मलाई विमानको टिकट र जर्मनीको ट्रान्जिट भीसा किन्न पर्याप्त भयो।
त्यसपछि म बहिनीसित जर्मनी जाने विमान चढ्न सफल भएँ। म पहिलो पटक विमान चढेकी थिएँ। मलाई साह्रै रमाइलो लाग्यो। म खुसी भएँ तर डराएँ पनि।
हामी घरमा नभएको थाहा पाएपछि बुवाले प्रहरीलाई फोन गर्नु भएछ। त्यो त्यतिबेला निकै ढिलो भइसकेको थियो। प्रहरीले बुवालाई फोन गर्न लाग्दा फोन मकहाँ आइपुग्यो किनभने मैलै सरकारी बेवसाइटमा बुवाको नम्बर नै बदलिदिएको थिएँ। जब म विमानबाट ओर्लिएँ प्रहरीले बुवालाई पठाएको सन्देश मेरो फोनमा आयो।
विदेश आगमन कस्तो भयो?
साउदी अरेबियाको जिन्दगी के जिन्दगी। म विश्वविद्यालय जान्थेँ अनि घर जान्थेँ। दिनभर केही काम हुँदैनथ्यो।
पुरुषहरूले मलाई चोट पुर्याउँदथे र भन्ने गर्दथे कि पुरुषहरू महिलाभन्दा ठूला हुन्। मलाई रमादान पर्वको बेला पनि प्रार्थन गर्न र केही नखाइ व्रत बस्न बाध्य तुल्याउँदथे।
जब म जर्मनी पुगेँ त्यसपछि म मलाई शरण लिन आवश्यक कानुनी सहयताको लागि एक कानुनी सहायता केन्द्र पुगेँ। मैले केही फारम भरेँ र त्यसपछि उनीहरूलाई मैले मेरो कथा सुनाएँ।
मैले क्यानडा नै रोजेँ। किनभने क्यानडामा मानव अधिकारलाई सम्मान गरिन्छ। मैले सिरियाली शरणार्थीहरू क्यानडा आएको र यहाँ शरण पाएको बारेका समाचारहरू पढेकी थिएँ। त्यसैले मैले सोचेँ क्यानडा नै म जानु पर्ने देश हो।
मलाई शरण दिन क्यानडा राजी भयो। जब म टोरोन्टो विमानस्थल आइपुगेँ मैले पर क्यानडाको झन्डा देखेँ। त्यतिबेला मलाई ठूलै कुरा प्राप्त भएको महसुस भयो। अहिले म मेरी बहिनीसँगै मोन्ट्रियल नगरमा छु। मलाई कुनै तनाव छैन। मलाई कसैले यो गर त्यो नगर भनेर दबाव दिँदैन।
साउदी अरेबिया धनी होला, उनीहरूसँग धेरै रकम होला तर मलाई यहाँ राम्रो लाग्छ। म आफ्नो कोठा चाहेको बेला छोड्न सक्छु। मलाई कसैको अनुमति चाहिन्न। म बाहिर जान सक्छु।
मलाई यो कुराले एकदमै धेरै खुसी बनाउँछ। म स्वतन्त्र छु जस्तो लाग्छ। मलाई जे लगाउन मन लाग्छ म त्यो लगाउन सक्छु। मलाई यहाँको शरद ऋतुको रङ्ग मन पर्दछ। मलाई यहाँको हिउँ पनि मन पर्छ। म फ्रान्सेली भाषा सिक्दैछु। त्यो एकदमै गाह्रो छ। म साइकल चढ्न, पौडी खेल्न र आइस स्केट खेल्न पनि सिक्दैछु। म जीवनमा केही गर्दैछु जस्तो लाग्दैछ।
म मेरो परिवारसँग सम्पर्कमा छैन। त्यो मलाइ राम्रो हो। त्यो उनीहरूका लागि राम्रो हो। मलाई अहिले यहीँ आफ्नो घर हो जस्तो लाग्दछ। मलाई यहाँ एकदमै राम्रो छ।
(बीबीसी विश्व सेवा रेडियोको ‘आउटसाइड् सोर्स्’ कार्यक्रमका ग्यारेथ इभान्ससँगको कुराकानीमा आधारित)


















