काठमाडौं, ९ पौष । टीकापुर घट्नाका मुख्य अभियुक्त मानिएका तर हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्टिय जनता पार्टीबाट उम्मेद्वारी दिएर निर्वाचित भएका रेशम चौधरीलाई पक्रेर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
टीकापुर घट्नामा एक एसएसपी सहित ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या गरेको अभियोगमा अदालतमा फरार अभियुक्तको सूचीमा रहेका चौधरी प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएपछि निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए ।
सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ ।
सर्वोच्चाको आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला प्रहरीले पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।
सर्वोच्चले भनेको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’
अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने उल्लेख गर्दै सर्वोच्चले भनेको छ,ू जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’
अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्धारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैर बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहिनताको स्थिति सृजना हुनसक्ने सर्वोच्चले उल्लेख गरेको छ ।