काठमाडौं। चुनावी गठबन्धनको सफल प्रयोग पछि पार्टी एकताको प्रकृयामा रहेका नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले अब बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने सहमति कायम गरेको रहस्य माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले खोलेका छन् ।
शुक्रबार भरतपुरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले त्यो ‘सत्ता सहमतिको रहस्य खोलेका हुन ।
‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो,’ दाहालले भरतपुरको पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकता संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ।’
दाहालले वाम गठबन्धन बन्ने बेलामै यस्तो सहमति भएको दाबी गरेका छन्। एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी ६ बुँदे सहमति भएको थियो।
यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको अनुमान गरिएको थियो । वाम गठबन्धनले स्थायी सरकार र आर्थिक समृद्धिको नारा सारेर चुनावमा भोट मागेको थियो।
दुई वर्षअघि ०७२ असोजमा आफ्नो समर्थनमा प्रधानमन्त्री बनेका ओलीले त्यसबेला ‘आलोपालो सहमति’ उल्लंघन गरेको आरोप लगाउँदै दाहाल ०७३ साउनमा देउवासित आलोपालो गर्न गएका थिए। पहिलो चरणको स्थानीय चुनाव सकिएपछि दाहालले सहमतिबमोजिम देउवाका लागि बालुवाटार खाली गराएका थिए ।
माओवादी केन्द्रका नेताहरुले अबका तीन वर्ष ओलीले नेतृत्व गर्नेछन्, दाहालले एकीकृत पार्टी हाँक्नेछन्। बाँकी दुई वर्ष दाहाल प्रधानमन्त्री बन्नेछन्, ओलीले पार्टी सम्हाल्ने छन् ।
गौतमको सैंबु भैंसेपाटीस्थित निवासमा शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले निष्ठाका साथ पार्टी एकतामा लाग्ने निर्णय गरेको छ । बंैठकमा एमाले अध्यक्ष ओलीले पार्टी एकताहून समय लाग्ने कुरा राख्नु भएको थियो ।