Prakash Adhikari February 25, 2019

ठाकुर सिम्खडा
भारत प्रशासित कश्मिरको पुलाबामा भएको आत्मघाती बम हमलामा ४५ जना भारतीय सैनिकको मृत्यु भएपछि भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएको छ । भारत उक्त आक्रमणको पछाडि पाकिस्तानको हात रहेको दावी गरिरहेको छ । पाकिस्तानले भने जैश-ए-मोहम्मदले जिम्मा लिएको सो हमलामा आफ्नो कुनै भूमिका नभएको बताइरहेको छ। सो संगठन पाकिस्तानमा छ। बरु पाकिस्तानले यस घट्नामा संलग्न संगठनविरुद्ध कारबाही गर्न र कश्मिरमा शान्ति कायम गर्ने कार्यमा सघाउन आफू तत्पर रहेको बताइरहेको छ ।

आत्मघाती हमलापछि भएका सर्च अभियानमा पृथकतावादी र भारतीय सुरक्षा फौजका जवानहरुबीच भएका आक्रमण प्रत्याक्रममा पनि दोहोरै ज्यान गएको छ । यसले भारत र पाकिस्तानबीच लामोसमयदेखि बन्दै गएको मधुर सम्बन्धमा एकाएक तिक्तता ल्याएको छ । पाकिस्तानलाई उपयुक्त जवाफ दिने घोषणा गरेको भारतले पाकिस्तानलाई बाँकी विश्वबाट अलग्याई दिने घोषणा गरेको छ ।

पाकिस्तानबाट आउने सामानमा २ सय प्रतिशत कर बढाइएको छ भने उसलाई दिइएको व्यापार सहुलियत हटाइएको छ । भारतले दुई देश भएर बग्ने वा सीमाका साझा नदीबाट पाकिस्तानलाई दिदैं आएको पानीको सुविधा खोस्ने पनि घोषणा गरेको छ ।

भारतका विभिन्न शहरमा रहेका कश्मिरी ब्यापारी र विद्यालयीय तथा उच्च शिक्षा अध्ययन गरिरहेका कश्मिरी विद्यार्थीमाथि आक्रमण भएका छन् । कश्मिरी मूलका मुसलमानहरु भारतका प्रमुख शहरहरुमा असुरक्षित महसूस गरिहेका छन् । मुलुक लोकसभाको निर्वाचनको संघारमा रहेको बेला सुरक्षा फौजलाई लक्षित गरि भएको यो आक्रमणलाई आफ्नो पक्षमा पार्ने रहर तथा ज्यानको बाजी लगाएर भारतको सुरक्षामा खटिएका सुरक्षाफौजप्रति सहानुभूति दर्शाउन भारतका राष्ट्रिय तथा क्षेत्रीय दलहरुले यस घट्नाको निन्दा तथा भत्सर्ना गर्दै भारतीय सरकारलाई पाकिस्तानमाथि उपयुक्त जवाफ दिन दवाव दिईरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री निर्मला सिधारमणले भारतले पाकिस्तानलाई उचित समयमा उपयुक्त जवाफ दिने बताएका छन् । भारत सरकारले सेनालाई सम्पूर्णरुपमा तयारी अवस्थामा रहन र जवाफी कारबाहीको तयारीमा रहन आदेश दिएको छ ।पाकिस्तानी प्रधानमन्त्री इमरान खाँनले भारतले आक्रमण गरे पाकिस्तानले उचित जवाफ दिने अर्थात प्रत्याक्रमण गर्ने चेतावनी दिइसकेका छन् ।

तर यतिका आधारमा भारत र पाकिस्तानबीच युद्ध भैहाल्छ भन्ने अवस्था छैन ।

एक त तत्काल पाकिस्तान प्रशासित काश्मिरमा आक्रमण थाल्न सीमा क्षेत्रमा अत्यधिक चिसो र हिँउ छ । दोस्रो युद्ध गरेर कुनै उपलब्धि हासिल भैहाल्छ भन्ने पनि छैन र यो आत्मघाती हमलामा पाकिस्तानको राज्यकै संलग्नता छ भन्ने पनि पुष्टी भएको छैन् । पाकिस्तानले आफूलाई यो आत्मघाती हमलाको दोष लगाउनु पहिले यसलाई प्रमाणित गर्न भारतलाई चुनौति नै दिएको छ । तेस्रो भारत अहिले लोकसभाको निर्वाचनको संघारमा छ, केही समयमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने अवस्था छ । विना लक्ष्य र विना तयारी युद्ध घोषणा गर्दा उपलब्धि हासिल पनि भएन र कदाचित पराजित पनि हुनु पर्यो भने त्यो निर्वाचनमा जाने दलका लागि निकै महंगो पर्ने हुन्छ ।

आफ्नो सीमाभन्दा टाढा रहेका र आफूले सैनिक हस्तक्षेप गरेका देशमा निर्वाचनको पूर्व सन्ध्यामा सैनिक कारबाही बढाएर अमेरिकी प्रभुत्व बढ्ेको देखाउदै निर्वाचनमा मत आकर्षित गर्ने प्रचलन अमेरिकी शासकहरुमा देखिए पनि सीमा जोडिएका र हवाई हैन स्थल सैन्य आक्रमण गर्नुपर्ने भारत र पाकिस्तानमा भने अमेरिकी सैनिकले आतंककारीहरुको अखडामा हवाई हमला गरेजस्तो सैन्य कारबाहीको संभावना देखिदैन । यद्यपि सन २०१६ मा भारतीय सेनाले पाकिस्तानमा सर्जिकल स्ट्राईक गरेर आतंकवादीहरुको अखडा ध्वस्त गरि आतंकवादीलाई सिध्याएको दावी गरेको थियो,तर त्यसको प्रमाण आजसम्म सार्वजनिक भएको छैन् ।

भारतको सत्तारुढ दलका निमित्त पुलवामाको आत्मघाती हमला निकै पेचिलो विषय भएको छ, युद्ध वा आक्रमण घोषणा नगरौ, सारा भारत सरकारले आतंकवादसंग आत्मसमर्पण गरेको आरोप लगाउछ्, युद्ध घोषणा गरौं, त्यसबाट आउने उपलब्धिको अनुमान गर्न सकिएको छैन । कदाचित युद्ध लम्बियो र सोचे अनुरुप परिणाम आएन भने निर्वाचन हार्नु त छदैछ, देशको आर्थिक सामाजिक विकासमा पनि त्यसले असर पुर्याउदछ ।

यसैले भारत र पाकिस्तानबीचको तनाव वाकयुद्धमा उत्कर्षमा रहने र सैन्य युद्धको चरणमा प्रवेश चाँही नहुने अनुमान गर्न सकिन्छ ।
सार्क राष्ट्रको अध्यक्षको हैसियतले नेपालले दुवैदेशकाबीच बढ्दो तनावलाई गम्भीरतापूर्वक हेरेर सकेसम्म तनाव घटाउन र दुई मुलुककाबीच सौहार्द्र वातावरण सिर्जना गरी सार्कको आगामी शिखर सम्मेलन हुने वातावरण तयार पार्न समन्वयकारी भूमिका खेल्नु मनासिव हुने देखिन्छ ।

Share Now

Leave a comment.