काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरूमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरूलाई आग्रह गर्नुभएको छ।
अर्थमन्त्री डा. खतिवडाले बुधबार काठमाडौंमा नेपाल पूर्वाधार बैंक लिमिटेडको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले व्यावसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरूमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले मुलुकमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पूँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गर्दै त्यो अभाव पूर्ति गर्ने दिशामा अघि बढन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरूले छिटो मुनाफा लिने होडमा मात्रै ध्यान केन्द्रित गर्न नहुने पनि बताउनुभयो ।
उहाँले बैंकर र उद्योगी दुवैलाई संयमित भएर दीर्घकालीन सोंचका साथ अगाडि बढन आग्रह गर्दै सन्तुलित ब्याजदर कायम गर्न सुझाव दिनुभयो ।
दुईपक्षबीचमा समन्वय हुन नसके र त्यसले अर्थतन्त्रलाई प्रभावित गर्ने अवस्था आए सरकार मुकदर्शक बन्न नसक्ने चेतावनी दिंदै उहाँले भन्नुभयो,’हामी सुँड पसार्दै तपाईहरूका बीचमा आउन चाहँदैनौँ तर झगडा हुँदा मिलाउनका लागि छिर्नै पर्यो।’
कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री डा.खतिवडाले बाणिज्य बैंकको संख्या धेरै भएकोले एक आपसमा मर्जर हुने वातावरण बनाउनको लागि समेत आग्रह गर्नुभयो । उहाँले बैंकहरु एकापसमा मर्ज हुँदा संचालन लागत घट्नुका साथै ठूला परियोजनामा लगानी गर्ने क्षमता बढ्ने बताउनुभयो।
हाल सञ्चालनमा आएको पूर्वाधार विकास बैंकको अधिकृत पूँजी रु ४० अर्ब, रु २० अर्ब जारी पूँजी र र १२ अर्ब चुक्ता पूँजी रहेको छ । सो बैंकले ४० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने घोषणा गरेको छ।
कार्यक्रममा बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधार विकासमार्फत् सरकारसँग सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्ताहरूलाई सामाजिक लाभांशसमेत प्रदान गर्ने लक्ष्य लिइएको बताउनुभएको थियो ।


















