काठमाडौं, २२ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरंजीवि नेपालले पूर्वाधार विकासमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनुभएको छ।
गभर्नर डा. नेपालले बुधबार नेपाल पूर्वाधार विकास बैंकको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सो निर्देशन दिनुभएको हो । उहाँले नेपालमा पूर्वाधार विकासका लागि लगानीको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई वैदेशिक लगानी भित्र्याउन पनि पहल गर्न सुझाव दिनुभयो।
नेपालको पूर्वाधार विकासका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई बाह्य लगानी भित्र्याउन पनि राष्ट्र बैंकले आवश्यक वातावरण बनाई दिएको दावी उहाँले गर्नुभयो ।
गभर्नर नेपालले पूर्वाधार विकासका लागि स्थापना गरिएका बैंकहरुले आफ्नो सम्पूर्ण पूँजी पूर्वाधार विकासमै गर्नुपर्ने दायित्व रहेको पनि स्मरण गराउनुभयो । उहाँले पूर्वाधार विकासमा लगानीको आवश्यक्ता बढ्दै गएकाले त्यो अभाव पूरा गर्ने काममा लाग्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सुझाव दिनुभएको थियो।
२९ माघमा राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएसँगै बुधबारबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक औपचारिक रूपमा सञ्चालनमा आएको हो। बैंकमा सरकारसहित केही वाणिज्य बैंक, बिमा कम्पनीहरू, लघुवित्त, नीजि कम्पनीहरूको संयुक्त लगानी रहेको छ। बैंकको सरकारको १० र निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ।
४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको यातायात, कृषि, ऊर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतको पूर्वाधार विकासमा लगानी गर्नेछ । बैंकले ८ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
बैंकले सातवटै प्रदेशमा कार्यालय स्थापना गरेर काम अघि बढाउने बताएको छ । बैंकको संचालक समितिमध्ये अध्यक्षमा अनुजराज अग्रवाल र सदस्यहरूमा मुकुन्दप्रसाद पौडेल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र नुमनाथ पौडेल रहनुभएको छ।


















