काठमाडौं, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैया घुस लिएको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनसँग बयान लिने तयारी गरेको छ।
अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर, घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपाने, राजपा नेपालका नेता ज्ञानेन्द्र झा,महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंह, राजपा नेता झासँग १५ लाख लिने राजनारायणका भाइ शुभनारायण पाठक,पाठकको भिडियो बनाउने नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानलगायतसँग बयान लिन लागेको हो ।
पाठकले भिडियो खिच्ने झा र मोक्तानलाई भिडियो डिलेट गराउन एसएसपी सिंह र उपराष्ट्रपतिका छोरा दीपेशको साथ लिन खोजेका थिए । घुस लिएर पनि काम नगरेपछि पाठकले घुस स्वीकारेको भिडियो–अडियो डिलिट गराउन एसएसपी सिंह र पुनलाई प्रयोग गरेका थिए ।
दीपेशले भिडियो खिच्ने झा र मोक्तानसँग कुराकानी गरेर पाठकलाई सघाउने भूमिका निर्वाह गरेको पाइएको छ । तर कुरा ननमिलेपछि पुनले उनीहरूसँग थप कुरा गर्न कैलाश मगरलाई पठाएका थिए। ‘ अख्तियारले राजनारायणलाई ७८ लाख बुझाउने राजपा नेता ज्ञानेन्द्र झासँग विगत तीन दिनदेखि बयान लिइरहेको छ। ‘उनको बयान अझै सकिएको छैन ।(अन्नपूर्ण दैनिकबाट)