Prakash Adhikari March 22, 2019

कुवेत सिटी(कुवेत)। नेपाल र कुवेतबीच बिहिबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आमन्त्रण खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

कुवेत सिटी स्थित अल–शबाब स्पोर्टस् कम्प्लेक्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले घरेलु टोली विरुद्ध जुझारु प्रदर्शन गर्दै आयोजक राष्ट््रको टीमलाई बराबरी रोक्न सफल भएको हो ।

शारीरिक रुपमा बलिया र अग्ला कुवेती खेलाडीले नेपालविरुद्ध सुरुदेखि नै हावी भएका थिए तर नेपालका खेलाडीहरुले कुवेती आक्रमणको सामना गर्दै खेललाई गोलरहित बराबरीमा रोके ।

खेलको ६५ औं मिनटमा कुवेतले पाएको पेनाल्टीलाई गोलपोष्ट बाहिर पुगेपछि घरेलु टोलीले महत्वपूर्ण गोलको अवसरलाई खेर फालेको थियो ।

नेपालका लागि गोलरक्षक किरण चेम्जोङले पनि उत्कृष्ट बचाउ गर्दै नेपालको सम्भावित हार टारे । अब सिरिज अन्तरगत दोस्रो मैत्रीपूर्ण फुटबल म्याच २५ मार्चमा हुनेछ ।

राष्ट्रिय टोलीमा पाँच खेलाडीको डेब्यु

बिहीबार कुवेतविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाँच खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु गराएको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने मध्ये नेपाल पुलिस क्लबका अजित भण्डारी र अर्का फरवार्ड रवि पासवानले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरे । भण्डारीले सुरुबाटै मौका पाए भने पासवानले खेलको ६१औं मिनटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे ।

त्यसैगरी मनाङका दुई खेलाडी बिमल राना र सुरज विश्वकर्माले पनि बिहीबार अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । राना खेलको ७४ औं मिनटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए भने विश्वकर्माले ८२ औं मिनटमा अजित भण्डारीलाई विस्थापित गरेका थिए ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका उदाउँदा स्टार सन्तोष तामाङले पनि राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भए । तामाङले खेलको ८० औं मिनटमा भरत खवासलाई विस्थापित गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

Share Now

Leave a comment.